सुन तस्करीविरुद्ध अख्तियार आक्रामक: तस्करीको आरोपमा पूर्व सभामुख, भन्सारका अधिकारीसहित २८ विरुद्ध मुद्दा

2.26k
Shares

काठमाडौं।

प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महरादेखि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयसम्मको मिलेमतोमा झन्डै ८ करोड रुपियाँ बराबरको सुन तस्करी भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग आक्रमक बनेको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको घटनाको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले पूर्वसभामुख महरा र उहाँका छोरा राहुल भन्ने रेशम महरा, भन्सार कार्यालयका उच्च अधिकारी र चिनियाँ र बेल्जियम नागरिकसम्मको मिलेमतो रहेको तथ्य अख्तियारले फेला पारेको हो ।

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियारले पूर्व सभामुख महरा र छोरा राहुल तथा भन्सार विभागका अधिकारीसहितलाई प्रतिवादी बनाई बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चिनियाँ गिरोहले भेपको आवरणमा नेपालमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको अभियोगपत्रमा दाबी गरिएको छ । भेपबाट हुने सुन तस्करीमा महराको चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि त्यसको विस्तृत अनुसन्धान गरी अख्तियारले मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयो ।

सो मुद्दामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा के.सी, नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेशप्रसाद कोईराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोख्रेललाई प्रतिवादी बनाइएको छ ।

त्यसै गरी निर्मल कुमार वि.क., लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । त्यस्तै, चिनियाँ नागरिक चिनियाँ नागरिक लीहाङसोङ, दाओजिन वाङ, बेल्जियम नागरिक दावा तेजिङ, भारतीय नागरिक साहेवराव पाण्डुरङ मगरले पनि प्रतिवादी बनाइएको छ । त्यसमा डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रा.लि पनि रहेका छन् । सुन तस्करहरूसँग करोडौं लाभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका पदाधिकारी र कर्मचारीले अरबौं राजस्व चुहावट गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको अख्यितारले जनाएको छ ।

अख्तियारका अनुसार २०७९ पुस १० गते दुबईबाट फ्लाई दुबईको उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७ सय ३० थान भेप ल्याएका थिए । ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो । भन्सारमा जाँच गर्ने क्रममा तत्कालीन एक्स–रे स्क्रिनर (नायब सुब्बा) ले उक्त ब्यागेजमा शंकास्पद वस्तु देखेर रेड च्यानल (आरसी) मा पठाएका थिए।एक्स–रे मेसिनले धातुको मोटाइ र रङ छुट्याउन सक्ने भए पनि आरसी क्षेत्रमा खटिएका भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठ लगायतका कर्मचारीले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच गरेनन् । बरु पछि अनुकूल समयमा ती सामान सट्टापट्टा गरी लैजाने नियतले जफत गर्ने निर्णय गरेको थियो ।

यतिमात्र होइन, जफत गरिएको सामान तोकिएको गोदाममा नराखी लामो समयसम्म प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको कार्यकक्षमै राखिएको थियो । त्यही अवधिमा सुन तस्कर समूहसंग अस्वाभाविक भेटघाट र टेलिफोन सम्पर्क भयो।अझ गम्भीर कुरा त, प्रमाण नष्ट गर्ने उद्देश्यले सुन ल्याउने चिनियाँ नागरिकको राहदानी समेत उनैलाई फिर्ता गरियो । सामान २०७९ माघ २९ गते मात्र लिलामी शाखामा पठाइयो । त्यहाँ पुगेपछि ती सामानलाई सीसीटीभीको निगरानी नपर्ने ठाउँमा सारियो । सुरक्षा गार्ड निर्मलकुमार विकले र नायब सुब्बा मधुसूदन पोखरेलको मिलेमतोमा एउटा भेप निकालेर कोटेश्वरको सुनचाँदी पसलमा परीक्षण गर्दा ९९ दशमलव ६ लाल सुन रहेको पुष्टि भयो र त्यसबाट सुनको सिक्री समेत बनाइयो ।

सुन भित्रिएको दिनदेखि नै पूर्वसभामुख महरा र उनका छोरा राहुल (रेशम महरा) ले चिनियाँ नागरिक दावा छिरिङ, बेल्जियम नागरिक निमा गुरुङ लगायतसँग मिलेर अस्वाभाविक चलखेल सुरु गरेका थिए । भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललगायत अरू कर्मचारीलाई प्रभावमा पारी इलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा लुकाई छिपाई ल्याइएको सुन समेतका सामग्रीहरू गैरकानुनी तवरबाट भन्सार कार्यालयबाट लिई जाने बदनियतले पटक–पटक भेटघाट तथा फोन सम्पर्क गरे गराएको तथ्य पुष्टि भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । उनीहरूको योजनाअनुसार गोदामबाट सुन भएका भेप निकालेर सुन नभएका भेप राखियो । अनि आफ्नो अपराध लुकाउन ती सामान लिलाम भएको देखाइएको थियो ।

लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्का र व्यापारी दिनेश बस्नेतले भारतीय नागरिकहरूमार्फत ओटुस्थित पशुपति सुनचाँदी पसलबाट उक्त सुन बिक्री गराए । सुन बिक्रीबाट प्राप्त अवैध रकम दीपिका थापा, प्रेरणा थापा, ललिता थापा र डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रा.लिको खातामा जम्मा गरियो । साथै, रामकेशव थापा क्षेत्री र अमृत कार्कीको नाममा जग्गा खरिद गरी सम्पत्तिको व्यवस्थापन समेत गरिएको थियो । यसरी कुल ८ हजार ४ सय ८० दशमलव ५१ ग्राम सुनबापत हुन आउने सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ १९ पैसा बराबरको सम्पत्ति हिनामिना गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ । सोही रकम बिगो कायम गरिएको अख्यितारले जनाएको छ ।