लन्डन, (एजेन्सी) ।
रोमानियाका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको पाँच दिनपछि मिर्सिया लुसेस्कुको ८० वर्षको उमेरमा निधन भएको छ ।
प्रशिक्षणको क्रममा बिरामी परेपछि लुसेस्कुले बिहीबार राजीनामा दिएका थिए । शुक्रबार बिहान हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
लुसेस्कुको २०२४ मा रोमानिया फुटबल टोलीका लागि दोस्रोपटक नेतृत्व थियो । यसअघि उनले १९८१ र १९८६ बीच रोमानियाली टोलीको नेतृत्व गरेका थिए ।
लुसेस्कुको नेतृत्वमा विश्वकप छनोटअन्तर्गत टर्कीविरुद्धको प्लेअफ खेल अन्तिम सावित भयो । मार्च २६ मा भएको उक्त खेलमा रोमानिया टर्कीसँग १–० ले हारेको थियो । यो हारले रोमानिया आगामी विश्वकपमा पुग्न असफल भएको थियो ।
एक खेलाडीको रूपमा लुसेस्कुले रोमानियाका लागि ६४ खेल खेले । उनले १९७० को विश्वकपमा आफ्नो देशको कप्तानीसमेत गरेका थिए । तर, उक्त विश्वकपमा उनको टोलीले समूह चरण पार गर्न सकेन । उनले राष्ट्रिय टोलीका लागि कूल ९ गोल गरेका थिए ।











प्रतिक्रिया