बागमतीले कोशीलाई सहजै हरायो


काठमाडौं ।

जारी प्रधानमन्त्री कप (पीएम कप) मा बागमती प्रदेशले बुधबारको खेलमा कोशी प्रदेशलाई ७ विकेटले सहजै हराएको छ ।
केवल १ सय रनको विजयी लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेट गुमाउँदै पाएको हो । टोलीका लागि विवेक मगरले सर्वाधिक ६१ रन जोडे । नटआउट रहेका उनले मात्र २८ बलमा १० चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, अर्का नटआउट ब्याटर प्रतिश जिसीले ५ बलमा २ छक्का र १ चौकाको सहयोगमा १७ रन बनाए ।

अन्य ब्याटरले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् । जसमा, शुभ कंसाकार १, इशान पाण्डे ० र रिन्जिन लामा १७ रनमा आउट भए । कोशीको बलिङमा विपिन महतोले २ र ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिएका थिए ।

यसअघि सन्दीप लामिछानेले घातक बलिङ गर्दा कोशीको ब्याटिङ चल्न सकेन । टोली २८.२ ओभर खेल्दै अलआउट भएर ९९ रनमा समेटिएको थियो । चार ब्याटरले दोहोरो अंकमा रन बनाए । जसमा, कप्तान सुजन थपलियाले सर्वाधिक २१ रन जोडे ।
विराटनगरको बलिङमा सन्दीपले ७.२ ओभर बलिङ गरेर ५ विकेट लिएका थिए । यसका साथै उनको जारी प्रतियोगितामा विकेटसंख्या २१ मा पुगेको छ । यस्तै, रिजन ढकालले २ विकेट हासिल गरेका थिए । योसँगैं बागमतीले जारी प्रतियोगितामा ७ खेलमा तेस्रो जित प्राप्त गरेको छ । सातै खेल खेलेको कोशीको यो लगातार छैटो हार थियो ।