राखेपले भन्यो संयुक्त बैठक गरौं


काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँगैं एसियन फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाएको छ । राखेपले यी तीनैबीच संयुक्त बैठक आयोजना गर्न पत्र पठाएको हो ।
राखेपले पत्रमा आवश्यक परेमा र आपसी सहमतिअनुसार हाल लगाइएको एन्फामाथि निलम्बनबारे पनि पुनर्विचार गरी हटाउन तयार रहेको उल्लेख गरेको छ । राखेपले नेपाली फुटबलको स्वायत्ततालाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि पत्रमा उल्लेख गरेको छ ।

धुलिखेलमा भएको साधारणसभाबाट भएको निर्णय विपरित एन्फाले निर्वाचन गर्न लागिएको राखेपको ठहर छ । विधानको पालना र संस्थागत इमान्दारिता कायम राख्ने उद्देश्यले नै हालको निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ ।
स्वीकृतिबिना नै निर्वाचन गर्न लागेको भन्दै राखेपले चैत १२ गते एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फाले नेतृत्वले चैत १३ गते तय गरिएको निर्वाचन स्थगित गरेको थियो ।

फिफा र एएफसीले चैत १४ गते एन्फालाई ७ दिनभित्र निर्वाचन गर्नु पर्ने चेतावनी युक्त पत्र पठाएको थियो । यदि निर्वाचन नभएमा एन्फा फिफाद्वारा निलम्बन हुने उक्त पत्रमा उल्लेख गरिएको थियो ।