मध्यशहर जावलाखेलको चिडियाखाना स्थानान्तरण अपरिहार्य

2.07k
Shares

सामान्य भाषामा चिडियाखाना भनेको विभिन्न प्रकारका जनावर, चराचुरुङ्गी तथा अन्य जीवजन्तुहरूलाई संरक्षण, अध्ययन र अवलोकनका लागि राखिने स्थान हो । विशेष गरी घरपालुवाभन्दा पनि जङ्गली जनावरहरूको संरक्षण र प्रदर्शनी यस्ता चिडियाखानामा गरिन्छ ।

नेपालको ऐतिहासिक चिडियाखाना ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना हो । यसको स्थापना वि.सं. १९९६ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले आफ्नै निजी दरबार परिसरमा गरेका थिए । शुरुवातमा यो सर्वसाधारणका लागि नभई केवल परिवार, नातेदार र पाहुनाहरूका लागि मात्र खुला थियो । यस्तो निजी चिडियाखानाको अभ्यास आज पनि केही देशहरूमा पाइन्छ ।

वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएपछि यो चिडियाखाना सरकारको स्वामित्वमा आयो । त्यसको केही वर्षपछि यो चिडियाखाना सार्वजनिक रूपमा सञ्चालन हुन थाल्यो । हाल प्रत्येक वर्ष लाखौं मानिस पशुपक्षीहरुको अवलोकन भ्रमणका लागि यहाँ पुग्ने गर्छन् । गाउँ वा शहर सबैका लागि चिडियाखाना प्रमुख आकर्षणको केन्द्र बन्ने गरेको छ । विद्यालयहरूले पनि विद्यार्थीको शैक्षिक भ्रमणका रूपमा चिडियाखाना भ्रमणलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

फ्रेन्डस् अफ् द जू (एफ्ओजेड्) जस्ता कार्यक्रममार्फत सयौं विद्यालयहरू संलग्न भई जीवजन्तु संरक्षण र शैक्षिक गतिविधिमा सहभागी भइरहेका छन् । बालबालिकाहरुलाई जीवजन्तु र प्रकृतिबारे बुझ्न र सिक्न सहज बनाएको छ । शहरनजिकै भएकाले यहाँ पुग्न सजिलो छ । सीमित स्रोत–साधनका बाबजुद चिडियाखानाले संरक्षण, शिक्षा र मनोरञ्जनका क्षेत्रमा उल्लेखनीय प्रयास गर्दै आएको छ । यो सकारात्मक पक्ष हो । तर जनावरसँग प्रत्यक्ष काम गर्नुपर्ने भएकाले यहाँ कार्यरत कर्मचारीहरूका लागि भने चुनौतीहरू पनि उत्तिकै छन् ।

सन् १९९५ देखि यस चिडियाखानाको व्यवस्थापन नेसनल ट्रस्ट फर् नेचर कन्जर्भेसन (एन्टीएन्सी) ले सम्हाल्दै आएको छ । यस संस्थाले विशेष गरी संरक्षण, अनुसन्धान र जनचेतना अभिवृद्धिमा ध्यान दिएको छ । चोरी सिकारबाट उद्धार गरिएका वा बरामद गरिएका जनावरहरूलाई पुनस्र्थापना गर्न पनि चिडियाखानाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पछिल्ला केही वर्षपहिले विमानस्थलबाट बरामद गरिएका चिम्पान्जीहरूसमेत यहीँ हुर्काएर प्रदर्शनमा राखिएका छन् ।

आज यो चिडियाखाना नेपालकै एकमात्र केन्द्रीय चिडियाखाना हो । यहाँ विभिन्न स्तनधारी, चराचुरुङ्गी र सरिसृप प्रजातिका पशुपक्षी राखिएका छन् । यस चिडियाखानाले पशुपक्षीको संरक्षण, आगन्तुक अवलोकनकर्तालाई शिक्षा र मनोरञ्जन तीनै उद्देश्य पूरा गर्दै आएको छ । यहाँको भ्रमणले बालबालिकालाई प्रत्यक्षरूपमा जनावरबारे सिक्ने अवसर दिन्छ भने आन्तरिक पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक योगदान पु¥याएको छ । साथै, मानिसमा प्रकृति र जनावरप्रति माया तथा जिम्मेवारी बढाउन पनि चिडियाखानाले महत्वपूर्ण भूमिका खेलेको छ ।

तर काठमाडौँ शहरको बीचभागमा अवस्थित यस चिडियाखानासँग केही चुनौतीहरू पनि जोडिएका छन् । सबैभन्दा पहिलो जोखिम जुनोटिक डिजिज (जनावरबाट मानिसमा सर्ने रोग) हो । कोभिड–१९, इबोला, बर्ड फ्लुजस्ता रोगहरू यसका उदाहरण हुन् । त्यसैले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ ।

त्यस्तै ध्वनि प्रदूषण अर्को समस्या हो । जनावरहरूको आवाजले वरपरका बासिन्दाहरूलाई असहज बनाउन सक्छ । विभिन्न जनावरको मलमूत्रबाट निस्कने दुर्गन्धले वातावरण र स्वास्थ्यमा असर पार्न सक्छ । साथै, सीमित क्षेत्रका कारण झिँगा, मुसा र लामखुट्टे बढ्ने सम्भावना पनि उत्तिकै रहन्छ । सुरक्षाको दृष्टिकोणले पनि जोखिमहरू छन् । यदि कुनै जनावर नियन्त्रणबाहिर गयो भने ठूलो दुर्घटना हुन सक्छ । विगतमा एउटा मृग फुत्केर स्कुटर दुर्घटना भएको घटना उदाहरणका रूपमा लिन सकिन्छ । झनै बाघ, भालुजस्ता हिंस्रक जनावर बाहिर निस्किए भने अझ गम्भीर अवस्था आउन सक्छ । भूकम्पजस्ता प्राकृतिक विपत्तिमा यस्तो जोखिम झन् बढ्न सक्छ ।

यसै सन्दर्भमा केही वर्षअघि भक्तपुरमा नयाँ चिडियाखाना निर्माण गर्ने चर्चा आएको थियो । वर्तमान चिडियाखानाको सीमित क्षेत्र, स्वास्थ्य जोखिम, प्रदूषण र सुरक्षाका चुनौतीहरूलाई ध्यानमा राख्दा शहरभन्दा केही टाढा, व्यवस्थित र सुरक्षित स्थानमा आधुनिक चिडियाखाना निर्माण गर्नु उपयुक्त देखिन्छ ।

हालको चिडियाखाना स्पाइसेस ३६० (जेड्आईएम्एस् सिस्टम) र इन्टरनेसनल जू एजुकेटर्स एसोसिएसन जस्ता अन्तर्राष्ट्रिय स्तरका केही संस्थाहरूमा आबद्ध भए पनि वल्र्ड एसोसिएसन अफ् जूज् एन्ड एक्वारियम्स (डब्लुएजेड्ए) वा साउथ एसियन जू एसोसिएसन फर रिजनल कोअपरेसन जस्ता संस्थाहरूको सदस्य बन्न सकेको छैन । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार र व्यवस्थापन आवश्यक हुन्छ ।

जीवजन्तुको अधिकारको दृष्टिकोणले पनि चिडियाखाना सुधार आवश्यक देखिन्छ । साँघुरो स्थानका कारण केही जनावरले प्राकृतिक जीवनशैलीअनुसार बस्न पाएका छैनन् । उनीहरूको स्वतन्त्रता, स्वास्थ्य, प्राकृतिक वातावरण र उचित हेरचाह सुनिश्चित गर्नु अत्यावश्यक छ । हालको चिडियाखानामा चाहेर पनि धेरै सीमितताको कारण कठिनाइ परेको देखिन्छ । उदाहरणका रूपमा, दुबईले पुरानो चिडियाखानालाई प्रतिस्थापन गर्दै आधुनिक र विशाल दुबई सफारी पार्क निर्माण गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

यसकारण, हालको चिडियाखानालाई ऐतिहासिक र शैक्षिक महत्वको ‘मिनी जू’ का रूपमा संरक्षण गरी ठूला तथा हिंस्रक जनावरहरूलाई चाहिँ नयाँ, फराकिलो र सुरक्षित स्थानमा स्थानान्तरण गर्दै लैजाने विकल्पमा विचार गर्नुपर्ने देखिन्छ । यसले जनावरको कल्याण, मानव सुरक्षा र अन्तर्राष्ट्रिय स्तरमा उकासिने सम्भावनालाई बलियो बनाउनेछ ।

यसका साथै, चिडियाखाना परिसरभित्र स्थानीयको पुजा गर्ने मन्दिर पनि छ । भोटोजात्रामा हजारौँ मानिसको ठूलो भीडभाड र अन्य गतिविधिले जनावरहरूमा तनाव सिर्जना गर्ने तथा दुवै पक्ष मानव र जीवजन्तुलाई सुरक्षा चुनौती पनि बढाउने भएकाले यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।

त्यसैले, नेपाल सरकार र सम्बन्धित निकायले दीर्घकालीन सोचका साथ आधुनिक, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने समय आएको देखिन्छ । यस्तो चिडियाखानाले संरक्षण, शिक्षा, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ । यस विषयमा बालेन्द्र साह नेतृत्वको नयाँ सरकारको ध्यान जानु जरुरी छ ।
(लेखक गोले हाल दुबई सफारी पार्क, युएईमा कार्यरत् हुनुहुन्छ ।)