१० जनालाई नारी सम्मान


नेपाली फिल्म क्षेत्रमा महिलाको योगदानलाई औपचारिक र संस्थागत रूपमा मान्यता दिने प्रयास स्वरूप फिल्ममा नारी ः महिला फिल्म महोत्सव सम्पन्न भएको छ।

चलचित्र विकास बोर्डको आयोजना तथा महिला फिल्मकर्मी सशक्तीकरण समितिको संयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न विधामा सक्रिय १० महिला फिल्मकर्मीलाई फिल्ममा नारी सम्मान प्रदान गरिएको छ। प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङलाई जनही २५ हजार रुपैया“सहित सम्मान गरिन्।

कार्यक्रममा महिला कलाकारहरुद्वारा प्रस्तुत नौमती बाजासहितका प्रस्तुति प्रस्तुत गरिएको थियो भने देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाललगायतको गीतले समारोहलाई संगीतमय बनाएको थियो। कार्यक्रममा कुमारी सिनेमाका कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारलाई प्रमाणपत्र प्रदानसमेत गरिएको थियो।