काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले १५ वर्ष अघिदेखि बेरुजु भएको रकम अझै नतिरेको खुलेको छ । महालेखा परीक्षकको २०६७÷०६८ सालको प्रतिवेदनमै तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् काठमाडौैं कार्यालयको प्रमुखको कार्यकाल सम्हाल्दा उहाँले छात्रवृत्ति वितरणमा हिसाब मिलान नगरेको खुलेको हो । उहाँको कार्यकालमा बेरुजु देखिएको करिब ५२ लाख रुपियाँ हालसम्म पनि सम्परीक्षण हुन सकेको छैन ।
उहाँकै कारण अघिल्लो कार्यकालका काठमाडौं कार्यालय प्रमुख भवराज कोईरालाको समेत बेरुजु देखिएको छ । बेरुजु देखिएकै कारण कोइरालाले अवकास पाइसक्दा पनि बोर्ड कार्यालयबाट पाउनुपर्ने निवृतिभरणको रकम पाउन सक्नुभएको छैन । उच्चस्रोतका अनुसार सदस्यसचिव अर्याल हिसाब मिलान गराउन महालेखा परीक्षकको कार्यालय धाइरहनुभएको छ । उहाँ कार्यालयबाट बाहिर जान्छु भन्दै महालेखा परीक्षकको कार्यालयमा गएर हिसाब मिलान गराउन लागिरहनुभएको छ । तर, अझै पनि प्रमाण जुटाउन सक्नुभएको छैन ।
स्रोतकाअनुसार अर्यालले छात्रवृत्ति वितरण गर्दा विद्यालयले वितरण गर्ने गरेको निर्णय, विद्यार्थीको नाम र विद्यार्थीले पाएको अनुगमन प्रतिवेदन, प्राप्त गर्ने विद्यार्थीको नामनामेसी प्रमाणित भई भरपाई पेस हुन नआएको रकम बेरुजु देखिएको छ ।
अर्यालको कार्यकालको अवधि २०६८ पुस २ देखि असार १६ गतेसम्म ६ लाख ६६ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षक स्रोतका अनुसार अर्यालको कार्यकालमा भौचर नम्बर ४०५, ४१२, ४२९,४४८,४५६ र ४९९बाट पटकपटक गरी खर्च गरेको लेखिएको छ ।
सदस्यसचिव अर्याल काठमाडौं कार्यालयमा दुई कार्यकाल प्रमुख हुनुभएको थियो । त्यस बखत उत्तरपुस्तिका छपाइमा समेत अनियमितता भएको हुनसक्ने आशंका छ । बोर्डमा आएको प्रतिवेदनका केही पानाहरू लुकाइएका कारण ती पानाहरूमा के थियो भन्ने कुरा प्रष्ट छैन । प्रतिवेदनमा उल्लेख भएको र अनियमितता भएको हो कि होइन भनेर जानकारी लिन सदस्यसचिव अर्यालसँग मोबाइल सम्पर्क गर्दा उठाउनुभएन ।
स्रोतका अनुसार अर्यालको कार्यकालमा काठमाडौं कार्यालयमा थुप्रै बेरुजु देखिएका छ । प्रतिवेदनमा उहाँको नाम तोकेरै ६ लाख ६६ हजार रुपियाँ असुलउपर गर्न निर्देशन दिएको छ भने अनियमितता गर्ने कर्मचारीमाथि कारबाही गर्नसमेत उल्लेख छ । कार्यालय प्रमुख र लेखा प्रमुखबाट भएको सो अनियमितताको विषयमा बोर्ड कार्यालयले स्पष्टीकरण दिएर हिसाब मिलान गर्ने तयारी गरेको छ । तर, परीक्षक कार्यालयले पूरा विवरण उपलब्ध नभएसम्म सम्परीक्षण गरी फ्छ्र्यौट गर्ने अवस्था नभएको जनाएको छ ।
प्रतिवेदनमा कार्यालयको आय व्यय विवरण र अन्य प्रमाणबाट ३ लाख ९४ हजार १७५ रुपियाँ नगद मौज्दात बाँकी रहेको देखिन्छ । कोषतर्फको आय उठाई दाखिला गर्ने जिम्मेवार व्यक्तिबाट ब्याजसहित असुल गरी कोष दाखिला गर्नुपर्ने उल्लेख छ । त्यसै गरी परिषद्को आर्थिक विवरण र बैंक मिलान विवरणमा फरक देखिएकोले आवश्यक कारबाही गरी असुल फछ्र्यौट गर्नुपर्ने उल्लेख छ ।
साथै अर्यालको कार्यकालमा भएको अनियमितता छानबिन गरी ब्याजसहित असुलउपर गर्न निर्देशन दिइएको छ । १५ वर्ष भयो न हिसाब मिलान गरिएको छ, न त स्पष्टीकरण नै । करिब एकवर्षपछि अवकाश हुन लागेका अर्यालले अहिले भने आफू बिदा हुनुअघि हिसाब मिलान गर्ने लगातार प्रयास जारी राख्नुभएको छ । तत्कालीन सदस्यसचिव भीमलाल गुरुङ, नारायण कोइराला र दुर्गा अर्यालको कार्यकालमा समेत बेरुजु फछ्र्योट हुनसकेको थिएन ।
आफैं बोर्डका प्रशासन प्रमुख हुँदासमेत हिसाबकिताब फछ्यौट नगरेका अर्यालले कारबाही हुनसक्ने भयले अहिले हिसाब मिलान गर्न खोज्नु भएको बताइएको छ । अर्यालमात्र होइन केही कर्मचारीको नाममा समेत बेरुजु देखिएको थियो । कतिले फछ्र्यौट गरिसके त कति बाँकी छन् ।
हालकै सदस्यसचिवले अनियमितता गरेको विषय उठान हुँदा मन्त्रालयले केही कारबाही गर्न सकेको छैन । सदस्यसचिव अर्यालकै दबाबका कारण कर्मचारी बिदा बस्न थालेका छन् । आफू हिसाब मिलान गर्न नसक्ने अनि लेखाका कर्मचारीलाई दबाब दिने कुन नैतिकताले दिन्छ ? बोर्डका कर्मचारीले नेपाल समाचारपत्रसँग भने ।
बेरुजु फछ्र्योट गर्ने प्रतिवेदन बोर्डमा पुगेको छ । तर अर्यालले लेखाका सीमितबाहेक कुनै पनि कर्मचारीलाई प्रतिवेदन देखाउन खोज्नुभएको छैन ।
महालेखाले बोर्डमा बजेट फछ्र्यौट नभएका सबै विवरण संकलन गरी तत्काल फछ्र्याैट गर्न लगातार ताकेता गरिरहेको छ । बोर्डमा अधिकांश अनियमितता गरेको भनिएको विवरण काठमाडौं कार्यालयकै छ ।











प्रतिक्रिया