काठमाडौं ।
हाल उपचारका लागि हङकङमा रहनुभएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी श्रीमती एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई अघि बढाउन सरकारले पक्राउ पुर्जी जारी गरेको छ ।
पूर्व प्रधानमन्त्री देउवा र आरजु राणाको परिवारको अस्वाभाविक कारोबार र सम्पत्ति रहेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
देउवा दम्पती देश बाहिर रहेकाले नेपाल ल्याउन इन्टरपोलमार्फत प्रहरीले आवश्यक गृहकार्य अघि बढाएको छ । ‘इन्टरपोलले अदालती कागजात माग्ने हुँदा यसअघि इन्टरपोलमार्फत नोटिस जारी गर्न सम्भव थिएन । अब भने नोटिसका लागि बाटो खुलेको छ । त्यसको प्रक्रिया अब अघि बढ्छ’ एक उच्च प्रहरी अधिकारीले भने । इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्युरो ९एनसीबी०ले प्रक्रिया अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
इन्टरपोलमार्फत नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उहाँहरूलाई नेपाल ल्याउनुपर्ने प्रावधान छ ।
यसअघि गत २३ र २४ भदौमा जेन–जी आन्दोलन हुँदा देउवा निवास बूढानीलकण्ठमा जलेका पैसाका रास भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटहरूको भिडियोसमेत सार्वजनिक भएको थियो । यद्यपि, देउवा परिवारले भने सो भिडियो एआई निर्मित भएको भन्दै खण्डन गरेको थियो ।
त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घरमा जलेको पैसाको मुचुल्कासमेत उठाएर अनुसन्धान अघि बढाएको थियो । अहिले उक्त फाइलसहित थप अनुसन्धान गर्न भन्दै केही दिनअघि मात्रै सीआईबी पठाइएको थियो ।
विभागका अनुसन्धान अधिकारीहरूका अनुसार उहाँहरूको चलअचल सम्पत्ति छानबिनका क्रममा अस्वाभाविक आर्जन भेटिएपछि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान हुन लागेको हो ।
देउवा र आरजु विदेशमा नै रहेको बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर, प्रमाण नष्ट हुनसक्ने भन्दै प्रहरी प्रशासनले अनुसन्धान नसकिँदासम्म घर भत्काउन रोक लगाएको थियो ।
देउवा र आरजुका छोरा जयवीरको नाममा मात्रै ७३ रोपनी जग्गा
विभाग स्रोतका अनुसार पछिल्ला केही वर्षमा शेरबहादुर र आरजुका एक्ला छोरा जयवीर देउवा र उनले नजिकका नातेदारहरूका नाममा किनेको करिब ७३ रोपनी जग्गाका विवरणहरू संकलन गरी अनुसन्धान भइरहेको छ । यसै गरी देउवाका नातेदार प्रदीप शम्शेर जबरा, साला भूषण राणालगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरणसमेत संकलन भइरहेको छ ।
विभागसम्वद्ध स्रोतका अनुसार, पछिल्लो एकाध वर्षको अवधिमा जयवीरले काठमाडौं उपत्यका र बाहिरसमेत जोडेको करिब ७३ रोपनी जग्गाको सम्पत्तिको स्रोत सबैभन्दा शंकास्पद प्रकृतिको छ । स्रोतले भन्यो, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतका अनुसार, अहिले जयवीरले किनेको जग्गा, देउवा दम्पतीको घरजग्गा र बैंकखातामाथि विस्तृत अनुसन्धान चलिरहेको छ ।’
सम्पत्तिसम्बन्धी विषय भ्रामक : देउवा
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै सम्पत्तिसम्बन्धी विषय भ्रामक भएको दाबी गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो वक्तव्य सार्वजनिक गर्दै आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेस गरेको उल्लेख गर्नुभएको छ । वक्तव्यमा उहाँले आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको उल्लेख गर्दै वास्तविकता समयक्रमसँगै खुल्दै जाने दाबी गर्नुभएको छ । वक्तव्यमा भनिएको छ– ‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’

प्रचण्ड र गंगा दाहालविरुद्ध पनि प्रमाण संकलन हुँदै
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उनकी पुत्री गंगा दाहालको सम्पत्तिका बारेमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आवश्यक प्रमाणहरू संकलन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते पुष्पकमल र गंगाको घरमा पनि ठूलो परिमाणमा पैसा जलेका भिडियोहरू सार्वजनिक भएका थिए ।
त्यसलगत्तै विभागले उहाँहरूको घरमा जलेका पैसाका बारेमा अनुसन्धान थालेको थियो । विभागका अधिकारीहरूले दाहालद्वयको घरमा पैसा जलेको पुष्टि भइसकेको र थप केही प्रमाण जुटाएपछि उहाँहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी हुनसक्ने बताएका छन् ।











प्रतिक्रिया