भक्तपुर ।
नयाँ वर्ष २०८३ तथा बिस्केट जात्राको अवसर पारेर आयोजना गरिएको ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’को तयारी पूरा भएको छ ।
औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनामा भोलीदेखि आगामी वैशाख ६ गतेसम्म भक्तपुरस्थित सल्लाघारीमा महोत्सव हुँदैछ । भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दीपक थापाले जानकारी दिनुभयो ।
महोत्सवको तयारी पूरा भएको उहाँको भनाइ छ । महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्धन गरिने छ ।
महोत्सवमा १८० भन्दा बढी स्टल रहनेछन् । ती स्टलमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिनेछ ।
महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ को प्रतिकृक्ति (स्ट्याचु) राखिनेछ । महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिनेछ ।
त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना गरिनेछ ।
महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो।
महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागितामा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना हुनेछ । महोत्सवमा रु पाँच करोड बढीको आर्थिक कारोबार हुने र दुई लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
महोत्सव एक बिशेष समारोहकाबीच भोली सल्लाघारी चौरमा सुरु हुँदैछ ।











प्रतिक्रिया