काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औँ शिखर सम्मेलन शुक्रबारदेखि 


काठमाडौँ। 

 नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औँ शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परिषद्ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलन आगामी शुक्रबारदेखि काठमाडौँमा सुरु हुने जानकारी दिएका हुन्।

परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारेर सन् २०१५ देखि निरन्तर रूपमा यस्तो शिखर सम्मेलन आयोजना गर्दै आएको छ। यस वर्षको सम्मेलन पनि गत वर्षझैँ सोल्टी होटलमा चैत २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।

यसपटक सम्मेलनको मुख्य नारा “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया” रहेको छ। डा. जोशीका अनुसार सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।

उनले सम्मेलनमार्फत नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, स्वास्थ्य क्षेत्रका उद्यमी तथा विकास साझेदारहरूलाई एउटै मञ्चमा ल्याइने बताए। “यसले विचार, अनुभव तथा नवीनतम अनुसन्धानका प्रमाणहरू आदानप्रदान गर्ने, छलफल गर्ने र जिम्मेवार अनुसन्धान संस्कृतिको प्रवर्द्धन गर्ने अवसर प्रदान गर्छ,” उनले भने।

सम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा रामसहाय प्रसाद यादव सहभागी हुने कार्यक्रम तय गरिएको छ। सम्मेलनमा करिब १२०० भन्दा बढी राष्ट्रिय सहभागी तथा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया, कोरिया र युरोपका केही अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने परिषद्ले जनाएको छ।

यद्यपि, मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण यस वर्ष अन्तर्राष्ट्रिय सहभागीहरूको संख्या गत वर्षको तुलनामा केही घट्ने अपेक्षा गरिएको छ।

सम्मेलनका लागि कुल ४६५ वटा एब्स्ट्र्याक्ट प्राप्त भएकोमा ९१ वटा मौखिक प्रस्तुति तथा १२० वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएको डा. जोशीले जानकारी दिए। सम्मेलनमा एउटा पूर्ण सत्र, ३५ वटा आमन्त्रित प्रस्तुतीकरण, १२ वटा समानान्तर सत्र र पाँचवटा प्यानल छलफलहरू समावेश गरिएका छन्।

मुख्य सत्रमा प्रमाणमा आधारित निर्णय प्रक्रियाका लागि स्वास्थ्य अनुसन्धान सुशासनमा केन्द्रित विषयमा प्रस्तुति तथा छलफल हुनेछ। समानान्तर सत्रहरूमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य, परिवार नियोजन, स्वास्थ्य प्रविधि र कृत्रिम बुद्धिमत्ता, मानसिक स्वास्थ्य, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपद् व्यवस्थापनजस्ता विषय समेटिनेछन्।

त्यसैगरी आयुर्वेद तथा परम्परागत चिकित्सा, सर्वव्यापी स्वास्थ्य पहुँच, वातावरणीय तथा पेशागत स्वास्थ्य, जलवायु परिवर्तन, स्वास्थ्यका सामाजिक निर्धारक, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र जनस्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य तथा औषधिमा पहुँचजस्ता विषयहरूमा पनि विस्तृत छलफल गरिनेछ।

सम्मेलनमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य अनुसन्धानकर्ताहरूलाई विभिन्न ११ विधामा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। जसअन्तर्गत बेष्ट रिसर्च पेपर अवार्ड, हेल्थ रिसर्चर अवार्ड, योङ हेल्थ रिसर्चर अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, बेष्ट ओरल तथा पोस्टर प्रिजेन्टेसन अवार्ड, स्वास्थ्य अनुसन्धान पत्रकारिता पुरस्कार लगायतका सम्मानहरू समावेश छन्।

परिषद्का अनुसार यो सम्मेलनले नेपालमा स्वास्थ्य अनुसन्धानको गुणस्तर सुधार गर्दै नीति निर्माणमा प्रमाणमा आधारित अभ्यासलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।