सरकारलाई कांग्रेसले भन्यो: मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिइयोस्


काठमाडौँ। 

नेपाली कांग्रेसले इन्धनको मूल्यवृद्धि, खाद्यन्नको अभाव, बजार मूल्य वृद्धि लगायतका समस्या समाधानका लागि तत्काल आवश्यक योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीका सांसद प्रकाशसिंह कार्कीले  भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै सरकारले ती समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालिन खालको योजना बनाएर काम गर्न ढिलाइ गर्न नहुने बताए ।

सांसद कार्कीले नेपाल बाह्य मुलुकको चलखेल गर्ने अखडा बन्ने खतरा रहेकाले सरकारले त्यस सम्बन्धमा विचार गरेर अघि बढ्न आवश्यक रहेको समेत बताए। 

उनले भने,‘हालको भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै उत्पन्न हुने विविध समस्या र चुनौतिहरुमा सरकारको गम्भिर ध्यानाकर्षणको आवश्यकता छ । यस्ता समस्याहरुलाई पहिचान गर्दै सरकारले पूर्व तयारी गर्नुपर्ने आवश्यकता ठानेको छु । यसले मुलुकमा उत्पन्न हुने अल्पकालीन र दीर्घकालीन विपद् पहिचान गर्नुपर्ने आवश्यकता देखिन्छ ।

इन्धनको मूल्य वृद्धि, खाद्यन्नको अभाव, बजार मूल्य वृद्धि नियन्त्रणको लागि आवश्यक योजना बनाउनु आजको प्राथमिकता हो । यसमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’ सांसद कार्कीले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको पनि बताए।