सार्वजनिक सवारी साधनको भाडा बढ्यो


काठमाडौँ।

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ ।

भाडा बढेको पुष्टि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गरेका छन् ।

सिटौलाले दिएको जानकारीअनुसार सार्वजनिक यातायातको भाडा न्यूनतम् १६.७१ प्रतिशतले वृद्धि भएको छ।
मालवाहक सवारी साधनको भाडा पनि त्यही दरमा बढेको छ। उनका अनुसार पहाडी क्षेत्रका मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढेको छ। उता तराई क्षेत्रका मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको उनले बताएका छन् ।

विभागले बुधबार नै नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्दैछ । इरान-अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ। त्यहीकारण यातायात व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिइरहेका थिए ।

सरकारको यो निर्णयसँगै नेपाली उपभोक्ता बजार महँगिने भएको छ। उता सार्वजनिक सवारीका यात्रुको खर्च पनि बढ्ने भएको छ।