जनताको नयाँ जनादेश र राजनीतिक निकास

1.13k
Shares

जनताको नयाँ जनादेश उत्साहजनक छ । यसपटक जनताले पुराना पार्टीहरुबाट मुलुकभित्र सृजना गरेका विभिन्न विकृति, विसंगति, भ्रष्टाचारसमेतका गतिविधिलाई गम्भीररुपमा लिए । अब पुराना नेताहरुबाट मुलुकका तमाम समस्याहरु समाधान हुन सक्दैन भन्ने निष्कर्षमा उनीहरु पुगे । तयसैले नयाँ पार्टी एवं नेताप्रति आशा र भरोसा राखेर जनताले मतदान गरे । झन्डै दुई तिहाइ मत नयाँ पार्टी अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ । अब जनताको आशा र भरोसाअनुसार रास्वपा सरकारले मुलुकका तमाम समस्याहरुको समाधान गर्न नेपालको भूराजनीतिक अवस्थालाई बुझेर अघि बढ्नेछ भन्ने विश्वास लिइएको छ ।

मलाई लाग्छ, जनताको वर्तमान जनादेश स्वाभाविक छ, किनभने यो मुलुकले धेरै लामो समयदेखि सरकारले स्थायित्व प्राप्त गर्न सकेन । सरकारमा बस्ने र प्रतिपक्षमा बस्ने सबै नेता, पार्टीहरु कुर्सीको खेलमा मात्र लागिरहे । कसरी सरकारलाई गिराउने र आफू मात्र सत्तामा पुग्ने कुरामा प्रतिपक्ष अहोरात्र लागिरह्यो । तत्कालीन सत्तासीन पार्टी साम, दाम, दण्ड, भेद जसरी पनि सत्तामा टिकिरहने कुरामा नै लागिरह्यो । जसको परिणामस्वरुप न सरकारले स्थायित्व प्राप्त ग¥यो, न जनताको समस्याको समाधान ग¥यो । यस्ता विविध कारणले जनता अब बलियो, स्थिर सरकार हुनुपर्छ भन्ने कुराको निष्कर्षमा पुगे । र, नयाँ पार्टीले केही गर्न सक्छ भन्ने विश्वासको साथ स्थिर र बलियो सरकार होस् भन्ने पक्षमा जनताले मतदान गरे, फलस्वरुप रास्वपाले झन्डै दुई तिहाइ सिट ल्यायो । यस अर्थमा यो जनादेश स्वाभाविक छ ।

जनता सार्वभौमसत्ता सम्पन्न भएकोले उनीहरुले एकपटक चुनावमा मत दिएपछि करिब पाँच वर्षसम्म आफूले चुनेर पठाएको प्रतिनिधि एवं सरकारले बाचा गरेको काम कुन हदसम्म सम्पन्न ग¥यो अनि राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रियता र स्वतन्त्रताको संवद्र्धन गर्नमा कति काम ग¥यो ? त्यो हेरिरहेको हुन्छ । मुलुकको विकराल रुप लिएको बेरोजगारी समस्या समाधानमा कति सक्रिय रह्यो भन्नेजस्ता जनताका जल्दाबल्दा समस्या समाधान गर्न सरकारले कति योगदान ग¥यो ? यस्ता कुराको जनताले निगरानी गरिरहेका हुन्छन् । यसपटक पनि जनताले यो सरकारबाट आफ्ना जल्दाबल्दा समस्याहरु समयमै समाधान होस् भन्ने खोजिरहेका छन् ।

जनता यति बेला पनि पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । यसपालिको चुनावमा विगत ५ वर्षभित्रका सरकारले विभिन्न समस्याको समाधान गर्न योगदान दिन नसकेको निष्कर्षमा जनता पुगे । हामी केही गर्छौं, मुलुकको समस्या समाधान गर्छौं भन्ने नयाँ प्रतिनिधि र पार्टीप्रति ठूलो आशा र भरोसाका साथ जनताले मतदान गरी आफ्नो सार्वभौमसत्ताको प्रयोग गरे । बालेन साहको नेतृत्वको सरकारले केही गर्छ भन्ने जनतामा आशा र भरोसा रहेको छ ।

अब ५ वर्षसम्म यो सरकारले घोषणा गरेका कार्यक्रमअनुसार काम गर्छ कि गर्दैन भनेर जनताले मूल्याङ्कन गर्नेछन् र आगामी चुनावमा सोही अनुसार फैसला गर्छन् ।

बालेन सरकारले सर्वप्रथम नेपालको भूराजनीतिक अवस्थालाई गम्भीर भएर गहिरोसँग अध्ययन गर्नुपर्छ । मुलुकको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमसत्तामा कहीँ–कतैबाट आँच आउन सक्ने अवस्थालाई रोक्नुपर्छ । प्रजातन्त्रका मूल्य–मान्यतालाई प्रवद्र्धन गर्दै जानुपर्छ । साथै मुलुकभित्रको शक्ति सन्तुलन र राष्ट्रिय शक्तिहरुका बीचमा एकता कायम गर्नुपर्छ । भूराजनीतिलाई विचार गरेर छिमेकीसहित सम्पूर्ण मित्र राष्ट्रहरुसँग सुमधुर सम्बन्ध बनाउँदै मुलुकको आर्थिक विकास, बेरोजगारी समस्याको समाधानतर्फ बालेन सरबार सक्रिय हुनुपर्छ । यो सरकार सम्पूर्ण नेपाली जनताको सरकार भएको हुनाले सबै पार्टी एवं विभिन्न तहर तप्काका जनसमुदायलाई समेत विश्वासमा लिएर काम गर्नुपर्छ । यसो भयो भने मुलुकको आर्थिक, सामाजिक विकासले गति लिन सक्छ । र, राष्ट्रिय समस्याहरुको समाधान पनि हुँदै जानेछ ।

अब मुलुकले कुन मोड लेला भनेर अहिल्यै भविष्यवाणी गर्न सकिँदैन तर जनताले जुन आशा र भरोसाका साथ मतदान गरेका छन र विजयी गराएका छन्, ती जनप्रतिनिधिहरुले मुलुक र जनताको हितमा पुराना सरकारका गल्ती नदोहो¥याई काम गरेमा मुलुकले काँचुली फेर्न सक्छ । हाल जनताले यो सरकारप्रति ठूलो आशा र भरोसा गरेका छन् तापनि अहिले नै मूल्याङ्कन नगरी केही दिन अर्थात् कम्तीमा सय दिनसम्म हेरेर फर्कनुपर्छ । त्यसपछि मात्र ‘हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात’ भन्ने उक्तिलाई मध्यनजर राखेर जनताले मूल्याङ्कन गर्नेछन् ।

यसपटकको निर्वाचनमा पूरै जेनजीहरुले रास्वपालाई मत दिए भन्ने कुरामा केही सत्यता छ । तर जेनजीहरुको बीचमा पनि मत बाझिएको कुरा सार्वजनिक रुपमै आएको हुनाले सबै मत रास्वपालाई प¥यो भन्ने लाग्दैन । तर जनेजीहरुसहित बहुमत जनताको मतचाहिँ निश्चितरुपमा रास्वपालाई परेकोले नै बढी सिट जित्न सफल भएको हो ।

मेरो विचारमा पुराना पार्टीहरुले समेत मुलुकको राष्ट्रिय राजनीतिमा केही हदसम्म महत्वपूर्ण भूमिका खेलेका थिए । ती पार्टीहरुले विगत चुनावमा जनतालाई दिएका बाचा पूरा नगर्दा र मुलकभित्र राजनीतिक, आर्थिक, सामाजिक विकृतिहरुको समाधान गर्न नसक्दा ती पार्टीहरुप्रति जनताको भरोसा टुटेको हो ।

अब यी पुराना पार्टीहरुले संसदीय प्रजातन्त्र, मुलुकको भूराजनीति, मुलुकको अस्मिता, राष्ट्रिय शक्तिहरुबीचको एकताका पक्षमा अनि मुलुकको भ्रष्टाचार, बेरोजगारीलगायत जल्दाबल्दा समस्याको समाधानका पक्षमा नयाँ सरकारलाई खबरदारी गर्ने र रचनात्मक सहयोग गरी अघि बढ्ने हो भने जनताले फेरि उनीहरुलाई विश्वास गर्न सक्छन् । हालको अवस्थामा यो सरकारलाई प्रतिपक्षले समेत सहयोग गरेमा मात्र उनीहरुको लागि मुलुक र जनताले दिएको अभिमतको कदर गरेको ठहर्छ । राम्रो कुरामा प्रतिपक्षसँग वर्तमान सरकारले पनि आवश्यक सहयोग लिएर अघि बढे त्यो पनि राम्रै हुनेछ ।
(लेखक काफ्ले वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)