काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समाप्त गर्ने चेतावनी दिएका छन्। ट्रम्पले मंगलबार राति वाशिङ्टन समयअनुसार ८ बजेसम्म इरानलाई सम्झौतामा आउन समय दिएका छन्। तर, अहिलेसम्म इरानले कुनै प्रतिक्रिया जनाएको छैन।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै, “आज राति एउटा सम्पूर्ण सभ्यता अन्त्य हुन सक्छ, म यो हुन चाहन्न, तर यस्तो हुन सक्छ,” भनेका छन्। उनले ४७ वर्षदेखि चल्दै आएको “जबरजस्ती, भ्रष्टाचार र हिंसाको चक्र अन्त्य हुन सक्ने” समेत उल्लेख गरेका छन्।
यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि अब प्रतिक्रिया दिने जिम्मा इरानकै भएको बताएका छन्। उनले निर्धारित समयभित्र इरानबाट सकारात्मक वा नकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको बताए।
उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC)ले हालसम्म अमेरिका र उसका सहयोगीविरुद्ध “संयम” अपनाएको जनाएको छ। तर, यदि अमेरिकी पक्षले “रातो रेखा पार गरे” कडा जवाफ दिने चेतावनी दिएको छ।
आईआरजीसीले आवश्यकता परे क्षेत्रीय पूर्वाधार लक्षित गर्न सकिने र तेल–ग्यास आपूर्ति अवरुद्ध हुन सक्ने संकेत समेत गरेको छ।
यसअघि सोमबार ट्रम्पले पत्रकार सम्मेलनमा इरान “रातारात ध्वस्त हुन सक्ने” चेतावनी दिएका थिए। उनले समयसीमाभित्र सम्झौता नभए कडा कदम चालिने बताएका थिए।











प्रतिक्रिया