ललितपुर।
देशमा शान्तिको कामना गर्दै ललितपुरको धापाखेलमा यही चैत्र २६ गते बिहीबार स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान सञ्चालन हुने भएको छ।
ललितपुर महानगरपालिका वडा नं २३ अन्तर्गत टोल सुधार समिति, महिला समूह र विभिन्न संघसंस्थाहरू सम्मिलित यज्ञ मूल समारोह समितिले सो सप्ताह आयोजना गर्न लागेको हो। वडा नं २३ कार्यालय परिसरमा सो अनुष्ठान सञ्चालन हुने छ। सप्ताह बैशाख ३ गतेसम्म चल्नेछ। पूर्वीय दर्शन अनुशरण गर्दै वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उदेश्यले हुने सो अनुष्ठानमा कथाब्यास आचार्य ओमप्रकाश सुवेदी र संकल्पकर्ता मुमुक्ष उद्ववशर्मा हुमागाई रहनुहुनेछ। हरेक दिन बिहान ७ बजे पूजा, ८ बजेदेखि पाठपारायण र १०स् ४५ बजेदेखि ५स् १५ सम्म कथावाचन हुनेछ। त्यसैगरी प्रत्येक दिन दिव्य झाँकी प्रदर्शनका साथै भक्ति संगीत हुने समितिका संयोजक देवकी शर्माले मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो। शुरूको दिन बिहान यज्ञस्थलबाट कलश यात्रा हुनेछ। त्यसैगरी समापनको दिन साँझ लक्ष्यदीप प्रज्वलन कार्यक्रम सामूहिक ब्रतबन्ध, विवाह, ग्रह शान्ति , तुलादान र १००८ शालिग्राम पूजा अर्चना परिक्रमा हुनेछ।
सो अवसरमा देशव्यापी १ सय ८ श्रीमद्भागवत सत्संकल्प अभियाकर्ता समेत रहेका मुमुक्ष हुमागाईले आध्यात्मिक शान्तिका लागि आफूले आफैलाई चिन्नुपर्नेमा जोड दिँदै त्यसका लागि भक्ति अनुष्ठान कार्यक्रम आयोजना गरेको बताउनुभयो। श्रीमद् भागवत एवं अन्य पुराणशास्त्र सुनेर आत्मिक शान्तिको महशुस गर्न ईच्छुकहरू कार्यक्रममा सहभागी हुन सकिने मुमुक्ष हुमागाईको कथन रहेको छ। अनुष्ठानबाट चढाइने भेटी, दान दक्षिणाबाट जम्मा भएको रकम जेष्ठ नागरिक दिवा केन्द्र स्थापनामा खर्चिने छ।
सो अवसरमा वडा नं २३ का वडाअध्यक्ष जीवन महर्जनले वडावासी सबै मिलेर यो अनुष्ठानलाई सफल बनाउनुपर्ने खाँचो औल्याउनुभयो। ललितपुरको सातदोबाटोबाट करिब दुई किलोमिटर दुरीमा हुने यस अनुष्ठानले धापाखेललाई चिनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।











प्रतिक्रिया