नाडाद्वारा कर घटाउन माग


काठमाडौं ।

अटोमोबाइल क्षेत्रको सुधार र प्रवद्र्धनका विषयमा सरकार र निजी क्षेत्रबीच छलफल भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी नीतिगत सुधार, कर संरचना र उद्योग विस्तारका उपाय प्रस्तुत गरेको हो।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रको विकासका लागि नयाँ नीतिगत हस्तक्षेप आवश्यक रहेको बताउँदै यसले राजस्व वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने उल्लेख गर्नुभयो । छलफलमा अर्थमन्त्री वाग्लेले राजस्वको दायरा विस्तार गर्दै आवश्यक परे कर दर समायोजन गर्ने, निजी क्षेत्रमैत्री नीति ल्याउने र पूर्वाधारमा लगानी बढाउने प्रतिबद्धता जनाए। आगामी बजेट तयारीका क्रममा नाडासँग थप छलफल गरिने उहाँको भनाइ छ ।

नाडाले अटोमोबाइल क्षेत्र सुधारका लागि ३६ बुँदे सुझाव पनि पेश गरेको छ । कार्यक्रममा करण चौधरी, राजनबाबु श्रेष्ठ र विक्रम सिंघानियालगायतले स्वदेशी उद्योग प्रवद्र्धन, गुणस्तर परीक्षण पूर्वाधार विकास र विद्युतिय सवारीका लागि स्पष्ट नीति आवश्यक रहेको धारणा राखेका थिए।