काठमाडौं ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास मा नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो दर गत आर्थिक वर्षको सोही अवधिको ३.८ प्रतिशतभन्दा उच्च रहेकाले अर्थतन्त्र क्रमशः सुधारोन्मुख देखिएको छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा अर्थतन्त्रका अधिकांश क्षेत्रले सकारात्मक वृद्धि हासिल गरेका छन् । कुल १८ औद्योगिक वर्गीकरणमध्ये अधिकांश क्षेत्रमा विस्तार देखिएको छ भने खानी तथा उत्खनन र निर्माण क्षेत्रमा मात्र ऋणात्मक वृद्धि देखिएको छ। यसले समग्र आर्थिक गतिविधि विस्तार भइरहे पनि केही आधारभूत क्षेत्र अझै सुस्त रहेको संकेत गर्छ । ऊर्जा क्षेत्र यस त्रैमासको वृद्धिको प्रमुख चालक बनेको छ । विद्युत् तथा ग्यास क्षेत्रमा २२.७४ प्रतिशतको उच्च वृद्धि भएको छ, जसको मुख्य कारण जलविद्युत् उत्पादनमा वृद्धि र वितरण प्रणालीमा सुधार हो। यसले उद्योग, सेवा तथा घरेलु उपभोगमा सकारात्मक प्रभाव पार्दै समग्र अर्थतन्त्रलाई टेवा दिएको देखिन्छ ।
वित्तीय तथा बीमा क्षेत्रमा १२.५१ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन, कर्जा प्रवाह र बीमा प्रिमियममा आएको विस्तारले यस क्षेत्रलाई मजबुत बनाएको छ । त्यस्तै, यातायात तथा भण्डारण क्षेत्रमा ९.६५ प्रतिशत वृद्धि हुनु व्यापार र आवागमन गतिविधि बढेको संकेत हो । सेवा क्षेत्रअन्तर्गत होटल तथा रेष्टुरेन्ट (आवास तथा भोजन) क्षेत्रमा ५.१८ प्रतिशत वृद्धि भएको छ, जसमा पर्यटकीय आगमनमा सुधार मुख्य कारकका रूपमा देखिएको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशत वृद्धि हुँदा बजारमा वस्तुको आपूर्ति र उपभोग बढेको संकेत मिल्छ ।
कृषि क्षेत्र २.२१ प्रतिशतले बढेको अनुमान गरिएको छ । यद्यपि धान उत्पादनमा केही गिरावट आए पनि पशुपन्छी, तरकारी र फलफूल उत्पादनमा भएको सुधारले समग्र कृषि क्षेत्रलाई सकारात्मक बनाएको हो। कृषि क्षेत्रको अर्थतन्त्रमा ठूलो योगदान रहने भएकाले यसको सानो वृद्धि पनि समग्र जीडीपीमा प्रभावकारी हुन्छ ।
अन्य क्षेत्रहरूमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनमा ०.५५ प्रतिशत, सार्वजनिक प्रशासनमा १.११ प्रतिशत र शिक्षा क्षेत्रमा १.१६ प्रतिशतको न्यून वृद्धि देखिएको छ, जसले यी क्षेत्रमा स्थिर तर सुस्त विस्तार भएको देखाउँछ । तर, निर्माण क्षेत्र ०.५९ प्रतिशत र खानी तथा उत्खनन क्षेत्र ०.८५ प्रतिशतले संकुचित भएका छन्।
निर्माण सामग्रीको आयातमा कमी, परियोजना कार्यान्वयनमा ढिलाइ र समग्र लगानी वातावरण सुस्त रहनु यसका मुख्य कारण मानिएको छ। यी क्षेत्रको कमजोरीले दीर्घकालीन आर्थिक विस्तारमा चुनौती सिर्जना गर्न सक्ने देखिन्छ । तथ्यांक कार्यालयले आर्थिक वृद्धिदरलाई मौसमी प्रभावसहित र मौसमी प्रभाव हटाएर दुई तरिकाले विश्लेषण गरेको छ। चाडपर्व, मौसम र कृषि चक्रका कारण अर्थतन्त्रमा आउने उतारचढावलाई हटाएर हेर्दा दोस्रो त्रैमासमा अर्थतन्त्र पहिलो त्रैमासको तुलनामा २.०४ प्रतिशतले विस्तार भएको देखिन्छ। पहिलो त्रैमासमा ३.२४ प्रतिशत आर्थिक वृद्धि भएको थियो।
ऊर्जा उत्पादनमा वृद्धि, वित्तीय गतिविधिमा विस्तार, सेवा क्षेत्रको पुनरुत्थान र व्यापारिक गतिविधिमा सुधारका कारण अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको देखिन्छ। तर निर्माण तथा उत्पादनमूलक क्षेत्रमा देखिएको सुस्तता र केही कृषि उपजमा आएको गिरावटलाई नीतिगत रूपमा सम्बोधन नगरे दीर्घकालीन दिगो वृद्धि चुनौतीपूर्ण बन्न सक्ने संकेत तथ्यांकले दिएको छ ।











प्रतिक्रिया