काठमाडौं ।
जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले पाँचौं जित हासिल गरेको छ । सोमबारको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ३८ रनले हराएको हो । योसँगैं विभागिय टोलीले ६ खेलमा अहिलेसम्म हार बेहोर्नु परेको छैन ।
अर्जुन साउदको शतकमा आर्मीले २ सय ६८ रन बनाएको थियो । टोलीका विनोद भण्डारीले ९ रन, कुशल मल्ल १ रन र भिम सार्कीले ६ रन मात्रै बनाएर भए । यी शीर्ष ब्याटरले सोचे जस्तो ब्याटिङ गर्न नसक्दा आर्मी दबाबमा परेको थियो । तर, अर्जुन र बसिर अहमदले पाँचौं विकेटका लागि ९९ रनको साझेदारी गर्दै टोलीलाई उकासे ।
बसिर ४५ रनमा आउट भए । यसपछि सन्तोष कार्कीले अर्जुनलाई साथ दिएर २९ रनमा आउट भए । अर्जुनले १ सय २० रन बनाएका थिए । उनको इनिङमा १० चौका र ३ छक्का सामेल थिए । बलिङमा कर्णालीका दिनेश खरेलले सर्वाधिक ४ विकेट लिए भने प्रकाश जैसीले ३ विकेट हासिल गरेका थिए ।
जवाफमा कर्णाली प्रदेशले १ सय ३० रन मात्रै बनाउन सकेको थियो । टोलीका लागि विपिन शाहीले सर्वाधिक ४० रन जोड्दा अर्जुन घर्तीले ३२ रन र दीपेन्द्र रावतले २५ रन बनाए । बलिङमा आर्मीका साहब आलाम र बसिर अहमदले समान ३ विकेट लिए । आकाश चन्दले २ विकेट प्राप्त गरेका थिए । यो कर्णालीको सात खेलमा पाँचौं हार हो ।











प्रतिक्रिया