धरानको बुद्धचोकमा रहेको एउटा दुईतले घरभित्र भित्तामाथि लेखिएको छ– स्व. कवि विमल गुरुङ स्मृति पुस्तकालय । भूपू लाहुरे पूर्णबहादुर गुरुङले दिवङ्गत छोराको स्मृतिमा स्थापना गरिदिएको पुस्तकालय १० धुर जमिनमाथि दुईतले पक्की भवनमा छ ।
नितान्त निजी लगानीमा स्थापित र सञ्चालित यस पुस्तकालयमा विभिन्न विषयका १५ हजारभन्दा बढी पुस्तक छन् ।
भवनको माथिल्लो तलामा पुस्तकालय छ भने तल्लो तलामा सभाहल । माथि छानामा गुरुङ परिवारका मूर्तिहरू लस्करै राखिएका छन् । त्यसमा दुईवटा मूर्ति विमल गुरुङका पनि छन् । यस पुस्तकालयमा पुस्तक र पत्रपत्रिका पढ्न कुनै शुल्क तिर्नुपर्दैन । बरु पुस्तक र पत्रपत्रिका पढ्न आउने पाठकलाई पूर्णबहादुर आफैँ थर्मसबाट चिया सारेर पिलाउँछन् ।
पुस्तकालयको सभाहल पनि निःशुल्क उपलब्ध छ र आवश्यक परे कार्यक्रम गर्दा पुस्तकालयले नै पानी, चिया, खाजाको व्यवस्था गरिदिन्छ ।
बुद्धचोकस्थित यस पुस्तकालयसित पूर्णबहादुरको परिवारको गहिरो साइनो गाँसिएको छ । आमा सरस्वती गुरुङलाई ती किताबहरूप्रति धेरै लगाव थियो । ती किताबहरूले छोराको उपस्थितिको आभास दिलाइरहन्थे । वि.सं. २०४८ सालदेखि लगातार पुस्तकालयमा सेवा पु¥याइरहेका छन् पूर्णबहादुरले । जीवनका २५÷२६ वर्ष विदेशी भूमिमा लाहुरे बनेर बिताएका उनले कुनै दिन पुस्तकालय खोलेर बसुँला भन्ने सोच्नु त के, कल्पनासमेत गरेका थिएनन् । ब्रिटिस आर्मीमा रहँदा अनेक युद्ध लडेका उनका पल्टने अधिकांश दिनहरू आम गोर्खा सैनिकसरह बन्दुक बोकेर बितेको थियो ।
पूर्णबहादुरले सन् १९६३ देखि १९६६ सम्म मलेसिया र इन्डोनेसियाबीचको युद्ध प्रत्यक्ष देखे । बन्दुक र बम पड्केको, गाडी जलेको, मान्छे मरेको र तातो रगत बगेको दर्दनाक र बीभत्स दृश्यलाई नजिकैबाट नियाले । उनी त्यो युद्धको त्रासदीले आहत बने । युद्धको आगोमाझ मलेसियाको जङ्गलमा बन्दुक समाउँदा–समाउँदा ठेला उठेका उनका हत्केलाले एक्लो छोराको मृत्युपछि पुस्तकका ठेली समाउन थाले ।
ज्ञानको मन्दिरको एक सच्चा पहरेदारका रुपमा पूर्णबहादुरले हेरचाह गरिरहेका छन् । पुस्तकालयका हरेक सामानलाई नफुटोस्, नटुटोस्, नचोरियोस् भनेर जतनका साथ राखेका छन् । उनी पुस्तकालयमा आउने हरेक पाठकलाई चिया वा कफीले स्वागत गर्दै पुस्तक, पत्रपत्रिका पढ्न उत्प्रेरित गर्छन् । अहिले जीवनको उत्तराद्र्धमा पनि नथाकीकन दैनिक पुस्तकालयमा हाजिर हुन्छन् । यहाँ बसेर पुस्तकहरूको धूलो टकटक्याउँदा छोराको मुहार सुमसुम्याएजस्तो लाग्छ उनलाई । उनको दिनचर्याको धेरै समय पुस्तकालयका पुस्तक र पत्रपत्रिका मिलाउन र सफा गर्नमै बित्छ । पुस्तकालयमा आउने पाठक, साहित्यकारसँग गफ गर्न पाउँदा उनको मन पुलकित हुन्छ ।
पूर्णबहादुरका दिनहरू पुस्तकालयकै वरिपरि बित्छन् । पुस्तकालयमा हरेक दिन पाठक, लेखक र सञ्चारकर्मीहरू आउँछन् । चियाको चुस्की लिँदै केही तीतामीठा गफ हुन्छन् । पछिल्लो समय पूर्णबहादुरलाई किताबहरूमाझ बाँच्ने बानी परिसकेको छ । एउटा समय उनी आफ्ना दाइहरूले पढ्नलाई स्कुल पठाउँदा, नपढेर के हुन्छ भनेर विद्रोह गरेर हिँडेका थिए । अहिले उनलाई आफूले त्यति बेला नपढेकोमा खूब पछुतो लाग्छ । समाजले पुस्तकालयबाट धेरथोर उज्यालो पाएको छ । धेरैलाई समाजसेवाको भावना र साहित्यमा लाग्न प्रेरणा मिलेको छ । पुस्तकालयमार्फत समाजकल्याणका निम्ति गरिरहेको कामले पूर्णबहादुरलाई आफ्नो जिन्दगी सार्थक बनेजस्तो लाग्छ ।
पुस्तकालयमा आउने साहित्यकर्मीहरूसँगको लामो हिमचिमकै कारण आज पूर्णबहादुर गुरुङ धेरथोर कविता बुझ्ने भएका छन् । कहिलेकाहीँ विमलका प्रकाशित कविताकृतिहरू लिएर पानाहरू पल्टाउने गर्छन् । पुस्तकालयमा आउने लेखक, साहित्यकारहरूबाट थाहा पाएका छन् कि विमलका कुन–कुन कविताहरू शक्तिशाली छन् । उनलाई विमलले लेखेको ‘मैले दियो जलाइनँ’ भन्ने कविताले विशेष छोएको छ । यो कवितामा विमल वि.सं. २०४६ मा देशमा प्रजातन्त्र आएर जनताले खुशीयाली मनाएर दियो जलाए पनि सक्कली प्रजातन्त्र नआएको तर्क गर्छन् ।
पूर्णबहादुरलाई विमलको अर्को कविता ‘एक किलो जङ्गल’का बारेमा पनि थाहा छ । उक्त कविताले त्यस बेला एउटा प्रतियोगितामा प्रथम पुरस्कार नै जितेको थियो ।
एउटा समय यस्तो आयो कि पूर्णबहादुरको परिवारका सारा सपना धराशयी भए । आशा र चाहना आँसुमा बगेर गए । कलिलै उमेरमा छोरोको मृत्यु एउटा वज्रपात नै थियो । तर पुत्रको वियोगमा रुनु र दुःखी बनेर बाँच्नुभन्दा यस शोकलाई समाजसेवामा बदल्ने अठोट गरे गुरुङ दम्पतीले । छोराले सिर्जेका साहित्यिक फूलहरूलाई नै मलजल गरेर बाँकी जीवन बिताउने योजना बनाए । छोराकै विचार अनुशरण गर्ने निर्णयमा पुगे । यसैलाई छोराका लागि आशीर्वाद र प्रेम ठाने ।
पूर्णबहादुरका थुप्रै साथीहरू पेन्सनपछिका जीवन ब्रिटेनलगायतका देशहरूमा बिताइरहेका छन् । कतिपय साथीहरूले उनलाई पनि विदेश आएर बस्न आग्रह गर्छन् । तर उनी यतै खुशी छन् । बाँकी जीवनमा पनि यसरी नै पुस्तकालयमार्फत समाजलाई सेवा गरिरहन चाहन्छन् । छोरा विमलको सपनामा मलजल गरिरहेकामा उनलाई सन्तोष छ ।
विमल पुस्तकालयमार्फत पूर्णबहादुरले समाजसेवा, जीवनमा समर्पणको महत्व र समाजप्रतिको दायित्वबोध बुझाएका छन् । आज आफूले गरेको निर्णयबारे सोचेर खुशी हुन्छन् । आफ्नो कामले गर्दा आफैँलाई भेटाएका छन् । उनलाई लाग्छ कि जीवन सार्थक भएको छ । आफैँलाई चिन्ने मौका पुस्तकालयले दिएको छ । अझ पुस्तकालयमार्फत आफैँलाई फेला पारेका छन् उनले । उनको आत्माले पनि खुशी र चैन एकैसाथ यही पुस्तकालयमा भेटाएको छ ।
पूर्णबहादुरलाई विमलको स्मृतिमा स्थापना गरिएको पुस्तकालयमा आफ्नो जीवनको परिचय नै विस्तार भएको र जीवनप्रतिको सोच नै बदलिएको लाग्छ । पुस्तकालयले उनको जीवनको बाटो परिवर्तन ग¥यो र नयाँ गोरेटोमा जीवनको गाडी गुड्न थाल्यो । पुस्तकालयमा आउने हरकोही युवकयुवतीको अनुहारमा आफ्नो खुशी मुस्कुराइरहेको देख्छन् । तिनमा छोरा विमलको अनुहार भेट्छन् ।
वि.सं. २०७२ मा सरस्वती गुरुङले पनि साथ छोडेपछि पूर्णबहादुरको साथी पुस्तकालयबाहेक कोही भएन । यसै कारण पनि उनले धरान छोड्न सकेका छैनन् । छोरी शान्तिले काठमाडौँमा आउन अनुरोध गर्छिन् । नातिनीहरूले सात समुद्रपारिका देशमा बोलाउँछन् । तर पूर्णबहादुरलाई धरान छोडेर कतै जाने मन छैन । कलिलै उमेरमा संसार छोडेर गएको छोराको सपनाको सेवामै जीवन समर्पित गर्ने इच्छा छ उनको । उनलाई थाहा छ– छोरा मरे पनि उसको साहित्यप्रतिको लगावलाई मर्न दिनुहुन्न ।
पूर्णबहादुर कहिलेकाहीँ झस्किन्छन्– २०४८ साल चैत २४ गतेको दुर्भाग्यपूर्ण बस दुर्घटनाले जीवनको राजमार्गमा एउटा नौलो मोड ल्याइदियो । यो मोड नआएको भए आज पूर्णबहादुर पनि विमलका छोराछोरीसित खेलिरहेका हुन्थे होलान् । घरैभरि नातिनातिनाका आवाज गुञ्जिरहेका हुन्थे । तर अहिले पूर्णबहादुर नातिनातिनीको साटो विमलले पढ्ने गरेका कृतिहरूले भरिएको पुस्तकालय स्याहार्दै बाँचिरहेका छन् ।
पूर्णबहादुरलाई लाग्छ– भर्खर जीवनको गोरेटोमा हिँड्न थालेको नवयुवकलाई यसरी टिपेर लग्नु हुन्नथ्यो । भगवान्ले ठूलै अन्याय गरेका हुन् । तर जे किस्मतमा लिएर आएको थियो, त्यो भएरै छोड्यो । गुरुङ दम्पतीसित छोराको सम्झनालाई स्याहार्दै बस्नेबाहेक अरु केही उपाय भएन । उनी अहिले समाजका लागि बाँच्ने अभ्यासमा छन् । सबैका लागि बाँचिसकेका यी पुस्तकका सिपाही बाँकी जीवन छोरा विमलकै सपनाका खातिर बाँच्ने प्रण गर्छन् ।
कहिलेकाहीँ पुस्तकालयमा एक्लै रहँदा विमलको सम्झनाले उनका आँखाका कुनाहरू ओसिला बन्छन् । घाँटी अवरुद्ध हुन्छ । अब जीवनमा के गर्न बाँकी छ र ! एउटा अभावको जीवनको जालोबाट फुत्केर शहरमा सुखी जीवन बिताउन पाएको छ । जीवनमा सात समुद्रपारि पुगियो । उमेरले चार बीस काटिसकेको छ । जीवनले लगभग पूरा गर्नुपर्ने रीत पूरा गरिसकेको छ । तैपनि जब–जब छोरा विमल गुरुङको सम्झना आउँछ, छातीको देब्रे पाटोभित्र नराम्ररी दुख्छ । बुढ्यौलीका दुई आँखाबाट थोपा आँसु खसेर चाउरी परेका अनुहारतिर कतै बिलाइजान्छन् ।
(कवि विमल गुरुङको जीवनी ‘मिर्मिरेमा झरेको तारा’बाट उद्धृत अंश ।)











प्रतिक्रिया