भद्रपुर।
झापामा लागूऔषध नियन्त्रण गर्न प्रहरी असफल बनेको छ । देशभरि ब्राउन सुगर पठाउने ट्रान्जिट पोइन्ट झापा बनेको छ । भारतीय बजारहरुबाट खरिद गरी झापाबाटै देशभरि ब्राउन सुगर आपूर्ति गर्ने गरिएको छ ।
लागूऔषधका कारोबारी र प्रयोगकर्ताहरुलाई पक्राउ गर्दा प्रहरी हैरान भइसकेको हो । भारतीय सीमा क्षेत्र पानीट्यांकी , गलगलिया, दिघलबैंकजस्ता बजारहरुबाट लागूऔषध ब्राउन सुगर ठूलो मात्रामा आपूर्ति भइरहेपछि सीमा नाकामा छेकेर संभव नदेखिएको हो ।
चैत १ गतेदेखि लागूऔषध नियन्त्रणको लागि अभियानकै रुपमा जिल्ला प्रहरी कार्यालय झापाले मिशन “अपरेशन ब्राउन” संचालन गरेको थियो । त्यस मिशनअन्तर्गत चैत १ गतेदेखि २२ गतेसम्म ४५ जना पक्राउ परेका छन् भने करिव ५१७ ग्राम ब्राउन सुगर बरामद भएको छ । सबैभन्दा धेरै भद्रपुर नाकाबाट ३१ जना पक्राउ परेका छन् भने ४१९ ग्राम ब्राउन सुगर फेला परेको थियो ।
लागूऔषध नियन्त्रणमा लागेका एकजना प्रहरी अधिकृत भन्छन् ,‘ पक्राउ गर्दा गर्दा हैरान भइसक्यौं, कतिलाई समाउने ? ’ लागूऔषधमा संलग्नहरुलाई पक्राउ गरेर प्रहरी हिरासतमा राख्ने ठाउँ नभएको भनाइ छ । पछिल्लो समय अरुतिर भन्दा सजिलो भएपछि भद्रपुर नाकाबाट लागूऔषध लिन हुरहुर्ती जान थालेका छन् । भद्रपुर क्षेत्रको अवस्था भयावह बनेको बताउनुहुन्छ ।
आइतबार मात्र प्रहरीले भद्रपुरबाट २१८ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दिनहुँ सीमा नाकामा लागूऔषध ओसारपसारमा संलग्नहरुलाई पक्राउ गर्ने गरेको छ । एक अध्ययन अनुसार भारतबाट झापामा भित्रिने करिव १० प्रतिशत मात्र लागूऔषध प्रहरीले पक्राउ गर्न सकेको छ । ९० प्रतिशत लागूऔषध झापाबाट अन्यत्र आपूर्ति हुने गरेको छ ।
लागूऔषध प्रयोगकर्तासहित कारोबारी पक्राउ गर्ने गरेको प्रहरीको भनाइ छ । प्रयोगकर्ताहरुलाई पक्राउ गरेर साध्य नै हुँदैन । प्रहरीकै सामुन्ने सीमापारि गएर लागूऔषध सेवन गरेर फर्किनेहरु धेरै छन् । चिनेपनि देखेपनि प्रहरीले त्यस्ता प्रयोगकर्ताहरुलाई केही पनि गर्ने गरेको छैन । पानीट्यांकी , गलगलिया , दिघलबैंक जस्ता ठाउँमा ब्राउन सुगर बिक्री गर्ने बस्ती नै रहेको छ । जहाँ ब्राउन सुगर सस्तो र सजिलै किन्न पाइन्छ । पछिल्लो समय सबैभन्दा धेरै पैसा कमाउने उपाय लागूऔषधको कारोबार बनेको छ । एकजना प्रहरी अधिकारीका अनुसार एक केजी ब्राउन सुगर काठमाडौमा लगेर बिक्री गर्दा करिव ४० लाख नाफा हुन्छ ।
खुल्ला सीमा भएका कारण प्रहरी प्रशासनलाई सीमावर्ती बजारहरुमा खुल्लमखुल्ला लागूऔषध बिक्री भइन्जेलसम्म यो समस्या नियन्त्रण गर्न असम्भव देखिएको छ । नेपालीहरुको भविष्य अन्धकार बनाउँदै लगेको यो समस्याप्रति गम्भीर बन्न भारतीय सरकारलाई दबाब दिनु आवश्यक देखिएको छ ।











प्रतिक्रिया