प्रतिनिधिसभाबाट तीन अध्यादेश सर्वसम्मत स्वीकृत, सांसद भट्टराईप्रति शोक प्रस्ताव पारित


काठमाडौँ।

प्रतिनिधिसभाले महत्वपूर्ण तीन अध्यादेश सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पारित भएका हुन्।

बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेशहरू स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि कुनै विरोध सूचना प्राप्त नभएको जानकारी सभामुख डोलप्रसाद अर्यालले बैठकमा गराएका थिए। त्यसपछि सभाले ती अध्यादेशहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

यसैबीच, बैठकले नेपाल कम्युनिष्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २४ गते मङ्गलबार अपराह्न १ः०० बजे बस्ने तय भएको छ।