विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने


काठमाडौं ।

नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर फुटबल क्याम्प आयोजना गर्ने भएको छ ।

विद्यालयहरूको अन्तिम परीक्षा सकिएलगत्तै विद्यार्थीहरूको लामो बिदालाई लक्षित गर्दै उक्त क्याम्प आयोजना गर्न लागिएको हो । छुट्टीको समयमा विद्यार्थीहरू लामो समय फोन, ल्यापटप, टिभी जस्तै इलेक्ट्रोनिक उपकरण हेर्दै आफ्नो समय बिताउने गर्दै गरेको र त्यसले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने हुँदा यस क्याम्पको मुख्य योजना विद्यार्थीहरू लाई ग्याजेट बाट केही समय भए पनि टाढा राख्नु हो ।

विद्यार्थीको मानिसको र शारीरिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेर देखि आकर्षित पार्ने योजना पनि यस क्याम्पको रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) प्रमाणित प्रशिक्षकहरूबाट प्रशिक्षण दिइने हुँदा यस क्याम्पले विद्यार्थीको फुटबल कौशलता वृद्धिमा मदत पुर्याउने विश्वास छ । यस क्याम्पमा सहभागी मध्यबाट सम्भावना देखिएका २ प्रशिक्षार्थीले १ वर्षको लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउने छन् । ६ महिनाअघि सञ्चालन भएको यस ट्रेनिङ सेन्टरले ग्रासरुट तह बाटनै एउटा खेलाडीलाई चाहिने प्रशिक्षण सुविधा उपलब्ध गराउँदै आएको छ । हरेक साता शनिबार नियमित प्रशिक्षण सञ्चालन हुँदै आएको छ ।

क्याम्प २०८२ साल चैत्र २८ गते शनिबार देखि २०८३ साल वैशाख ५ गतेसम्म चल्नेछ । क्याम्प सातदोबाटो स्थित एन.एस.एफ स्पोर्ट्स कम्प्लेक्समा बिहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ । दर्ता शुल्क रु ५००० तोकिएको छ । यस क्याम्पमा विद्यार्थीको मनोरञ्जन, कौशलता विकास, खेल प्रति लगाव, प्रगतिशील प्रशिक्षणलाई मध्यनजर गरिनेछ ।