गुण्डागर्दीविरुद्धको अभियान तीव्र

३ सय ६ जना पक्राउ, बिचौलियाको भागाभाग


काठमाडौं।

बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि सुरक्षा संयन्त्र सक्रिय बन्दै जाँदा राजधानीमा अपराध नियन्त्रणका लागि व्यापक ‘क्र्याकडाउन’ अभियान सञ्चालन गरिएको छ । प्रहरीले पछिल्लो एक सातामै गुण्डागर्दी, ठगी तथा बिचौलिया गतिविधिमा संलग्न ३ सय ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार रात्रिकालीन विशेष खोजी अभियान सञ्चालन गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तथा मुलुकका विभिन्न भागबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामध्ये सार्वजनिक शान्ति खलल गरेको आरोपमा ८० जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त अपरेसनमा ३१ जना पक्राउ परेका थिए । जसमध्ये ३० जनामाथि अनुसन्धान जारी छ भने एक जनालाई वैदेशिक रोजगार ठगी मुद्दामा थप कारबाहीका लागि विभाग पठाइएको छ ।

प्रहरीले सार्वजनिक अपराध तथा सजाय ऐन, ठगीसम्बन्धी कसुर, वैदेशिक रोजगार ऐन तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

यसैबीच, मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय आसपास सक्रिय बिचौलियामाथि पनि निगरानी बढाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म यस्ता गतिविधिमा संलग्न करिब ८० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि सार्वजनिक अपराध, ठगी तथा गैरकानुनी दलालीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

तर, साना स्तरका अपराधीमाथि आक्रामक रूपमा कारबाही भइरहँदा संगठित आर्थिक अपराधका रूपमा विकसित मिटरब्याजी कारोबार भने अझै प्रभावकारी रूपमा नियन्त्रणमा आउन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रको बुँदा नम्बर ३२ मा मिटरब्याजीमाथि कडा कारबाही गर्ने उल्लेख भए पनि व्यवहारमा त्यसको कार्यान्वयन भएको देखिएको छैन ।

विशेषगरी क्यासिनो केन्द्रित गतिविधिसँग जोडिएको मिटरब्याजी कारोबारमा संलग्न समूहले अत्यधिक ब्याजदरमा रकम लगानी गर्दै आएका छन् । क्यासिनोमा हार्नेहरूलाई लक्षित गरी प्रतिलाख दिनको हजार रुपियाँसम्म ब्याज असुल्ने गरिएको तथ्य बाहिर आएको छ ।

विगतदेखि नै प्रभावशाली व्यक्तिहरूको संरक्षणमा यस्तो कारोबार चल्दै आएको आरोप लाग्दै आएको छ । केही मिटरब्याजीहरूले प्रहरी अधिकारीहरूसँग आर्थिक सम्बन्ध राख्दै कानुनी कारबाहीबाट जोगिँदै आएको गुनासो बढी रहेको छ । यसले गर्दा साना अपराधीमाथि मात्र कारबाही हुने र ठूला आर्थिक अपराधमा संलग्न व्यक्तिहरू उन्मुक्ति पाउने अवस्था देखिएको भन्दै आलोचना हुन थालेको छ ।

विश्लेषकहरूका अनुसार अपराध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन संगठित आर्थिक अपराध, विशेषगरी मिटरब्याजजस्ता संवेदनशील विषयमा पनि समान रूपमा कडाइ आवश्यक रहेको छ ।

समग्रमा हेर्दा बालेन नेतृत्वको वर्तमान अभियानले साना तथा मध्यम तहका अपराध नियन्त्रणमा प्रारम्भिक सफलता हासिल गरे पनि दीर्घकालीन प्रभावका लागि ठूला आर्थिक नेटवर्कमाथि पनि निर्णायक कदम चाल्नुपर्ने आवाज उठ्दै आएको छ ।