जडीबुटीको धनी तर औषधिमा भने परनिर्भरता

नीति अभावले अनुसन्धान, उत्पादन र स्वास्थ्य आत्मनिर्भरता सबै ओझेलमा

658
Shares

काठमाडौं।

विश्वमा प्राकृतिक औषधिको स्रोत खोज्ने हो भने नेपाललाई अग्रपंक्तिमा राखिन्छ । हिमालदेखि तराईसम्म फैलिएको जैविक विविधता, सयौँ प्रकारका औषधीय वनस्पति र हजारौँ वर्ष पुरानो आयुर्वेदिक ज्ञानले नेपाललाई स्वास्थ्य आत्मनिर्भरताको बलियो आधार दिन सक्छ भनेर विज्ञहरूले वर्षांैदेखि भन्दै आएका छन् । तर विडम्बना, यिनै सम्भावनाबीच नेपाल आज पनि औषधि, प्रविधि र स्वास्थ्य पूर्वाधारका लागि विदेशी बजारमै निर्भर छ ।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार यसको मुख्य कारण स्रोतको अभाव होइन, दूरदर्शी नीति, अनुसन्धानमा लगानी र उत्पादनमुखी सोचको अभाव हो । नेपालमा पाइने सयौँ प्रजातिका जडीबुटी औषधि निर्माणका लागि प्रयोग हुन सक्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको तथ्यांकले देखाउँछ । तर, तीमध्ये धेरैजसो जडीबुटी कच्चा पदार्थकै रूपमा विदेश पुगिरहेका छन् । जडीबुटीको प्रशोधन विदेशमै भइरहेका कारण नेपालले निकै कममात्र लाभ पाइरहेको छ । यदि, यही जडीबुटी स्वदेशमै प्रशोधन गरी औषधि उत्पादन गर्न सकिएको भए नेपालले स्वास्थ्य आत्मनिर्भरतामात्र होइन, निर्यातमार्फत ठूलो आर्थिक लाभ लिन सक्ने विज्ञहरूको तर्क छ । उनीहरूको तर्क छ– ‘नेपालले जडीबुटी बेचेर होइन, औषधि बेचेर कमाउने रणनीतिमा जानुपर्छ ।’

नेपालमा ८० भन्दा बढी औषधि उद्योग सञ्चालनमा छन् । ती उद्योगहरूले गुणस्तरीय औषधि उत्पादन गरिरहेका छन् । तर, कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यताले उत्पादन लागत बढाएको छ । जसले गर्दा एकातिर उद्योगीहरू दबाबमा छन् भने अर्कोतिर देशको ठूलो विदेशी मुद्रा बाहिरिएको छ ।

औषधि उत्पादकहरूले कर सहुलियत, कच्चा पदार्थमा सहजता र नीति स्थिरताका लागि सरकारसँग पटक–पटक आग्रह गरेका छन् । तर, उनीहरूको भनाइमा नीतिगत निर्णयमा ढिलाइले उद्योग क्षेत्र निराश बनेको छ । नेपालमा औषधि उत्पादन गरिरहेका उद्योगीका अनुसार सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने हो भने औषधिमा नेपाल धेरै हदसम्म आत्मनिर्भर हुन सक्छ।

सम्भावना ठूलो, संरचना कमजोर

नेपालको आयुर्वेदिक परम्परा समृद्ध भए पनि यसको संस्थागत विकास भने कमजोर देखिन्छ । आयुर्वेद विश्वविद्यालयको अभाव, सीमित अनुसन्धान केन्द्र र आधुनिक सुविधासहितका आयुर्वेद अस्पतालको कमीले यो क्षेत्र सम्भावनाअनुसार अघि बढ्न सकेको छैन ।

विज्ञहरूका अनुसार आयुर्वेदलाई आधुनिक विज्ञान र प्रविधिसँग जोड्न सकियो भने नेपाल स्वास्थ्य पर्यटनको विश्वस्तरीय गन्तव्य बन्न सक्छ ।
नेपालको प्राकृतिक वातावरणलाई पनि स्वास्थ्य उपचारको एक भागका रूपमा लिन सकिने उनीहरूको धारणा छ । उनीहरूका अनुसार हिमाली हावा, पहाडी वातावरण र तराईको मौसमीय विविधतालाई ‘नेचुरल थेरापी’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

स्वास्थ्य क्षेत्र केवल उपचारको विषयमात्र होइन, यो राष्ट्रको उत्पादकत्व, अर्थतन्त्र र मानव विकाससँग जोडिएको आधार हो । नेपालले आफ्नो जडीबुटीलाई सही रूपमा उपयोग गर्न सके स्वास्थ्य आत्मनिर्भरतामात्र होइन, ‘नेपाल ब्रान्ड’ को औषधि विश्व बजारमा स्थापित गर्न सक्ने सम्भावना पनि छ ।
सरकारले तत्काल ध्यान दिनुपर्ने विषयहरू :

– जडीबुटीको वैज्ञानिक संरक्षण र व्यावसायिक खेती

– राष्ट्रिय आयुर्वेद विश्वविद्यालय स्थापना

– अनुसन्धान केन्द्र र आधुनिक प्रयोगशाला विस्तार

– स्थानीय तहसम्म आयुर्वेद सेवा विस्तार

– औषधि उत्पादनमा स्वदेशी उद्योगलाई प्रोत्साहन

– स्वास्थ्य नीति र अनुसन्धानबीच समन्वय