कांग्रेसको चेतावनी: सरकार संयमित नभए द्वन्द्वको जोखिम


काठमाडौं ।

नेपाली कांग्रेसले पछिल्ला घटनाक्रमप्रति सरकार संयमित र परिपक्व हुनुपर्नेमा जोड दिँदै अन्यथा देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चेतावनी दिएको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कांग्रेसले शनिबार पाँच बुँदे धारणा सार्वजनिक गरेको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष, पारदर्शी र कानूनी प्रक्रिया अनुसार अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन्। ती घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने उनले स्पष्ट पारे।

कांग्रेसले सरकारलाई आवेग र उत्तेजनामा आएर निर्णय नगर्न आग्रह गर्दै हतारमा गरिएका कदमले कानूनको शासन कमजोर पार्न सक्ने जनाएको छ। साथै, यस्ता गतिविधिले देशलाई पुनः द्वन्द्व र अस्थिरतातर्फ धकेल्न सक्ने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरिएको छ।