बंगलादेशको ५५औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाइयो उच्चस्तरीय उपस्थितिले द्विपक्षीय सम्बन्धमा नयाँ सन्देश


काठमाडौं ।

नेपालस्थित बंगलादेश दूतावासले बंगलादेशको ५५औँ स्वतन्त्रता दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राजधानी काठमाडौंमा भव्य समारोह आयोजना गरेको छ। लाजिम्पाटस्थित रेडिसन होटलमा आयोजित उक्त स्वागत समारोहमा उच्चस्तरीय कूटनीतिक, राजनीतिक र सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरू, मन्त्रीहरू, राजनीतिक दलका नेताहरू, उच्च सरकारी अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि, थिंक ट्याङ्कका सदस्य, व्यवसायी, सञ्चारकर्मी तथा नेपालमा बसोबास गर्दै आएका बंगलादेशी समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै नेपालका लागि बंगलादेशका राजदूत एमडी शफिकुर रहमानले बंगलादेशको स्वतन्त्रता संग्रामका वीर शहीदप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले नौ महिनासम्म चलेको मुक्ति संग्राममा ज्यान आहुति दिने वीर योद्धाहरूको योगदानलाई स्मरण गर्दै उनीहरूको बलिदानकै कारण आजको स्वतन्त्र बंगलादेश सम्भव भएको बताउनुभयो। राजदूत रहमानले स्वतन्त्रता संग्रामको समयमा नेपाल सरकार र नेपाली जनताले प्रदान गरेको नैतिक तथा भौतिक सहयोगप्रति विशेष आभार व्यक्त गर्नुभयो।

उहाँले नेपाल–बंगलादेश सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, शिक्षा, संस्कृति, पर्यटन तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा सहकार्यलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँले नेपालमा हालै गठन भएको नयाँ सरकारलाई बधाई दिँदै प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा दुई देशबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। साथै बंगलादेशमा पनि नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा अगाडि बढिरहेका योजना र प्राथमिकताबारे जानकारी गराउनुभयो।

नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न बंगलादेश तयार रहेको सन्देशसमेत उहाँले दिनुभयो। समारोहका क्रममा संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशन २०२७–२०२८ को अध्यक्ष पदका लागि उम्मेदवारी दिएका बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानको उम्मेदवारीसम्बन्धी दुई वटा ब्यानरसमेत प्रदर्शन गरिएको थियो। राजदूत रहमानले उहाँको प्रोफाइलबारे संक्षिप्त जानकारी दिँदै उक्त पदका लागि समर्थन गर्न आग्रह गर्नुभयो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा प्रमुख अतिथि उपराष्ट्रपति यादव र राजदूत रहमानले संयुक्त रूपमा केक काटेर स्वतन्त्रता दिवसको उत्सव मनाउनुभएको थियो। साथै दुवैबीच टोस्ट साटासाट गरिएको थियो, जसले नेपाल र बंगलादेशबीचको दीर्घकालीन मित्रता र सहकार्यको प्रतीकात्मक अभिव्यक्ति दिएको थियो। समारोहका क्रममा उपराष्ट्रपति यादव र राजदूत रहमानबीच विशेष भेटघाटसमेत भएको थियो।

उक्त भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार आदान–प्रदान गरिएको जनाइएको छ। कार्यक्रमको अन्त्यतिर सहभागीहरूका लागि बंगलादेशी परम्परागत परिकारसहित अन्तर्राष्ट्रिय खानाका विविध परिकारसहितको भव्य रात्रिभोजको व्यवस्था गरिएको थियो।

करिब ३८० जना विशिष्ट अतिथिहरू सहभागी रहेको उक्त समारोहमा नेपालका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, करिब २५ जना राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरू र अन्य कूटनीतिक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। समग्रमा, उक्त समारोहले नेपाल–बंगलादेशबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश दिएको विश्लेषण गरिएको छ। यस्तो उच्चस्तरीय सहभागिताले दुई देशबीचको सहकार्यलाई आगामी दिनमा अझ सशक्त र विस्तार गर्ने संकेत गरेको छ।