वाचामय प्रण अनि सपथ

0
Shares

(कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।)

“रिभ्यालीको बिगुल र संखघोषको विजय उत्सवसङ्गै,
रणभूमिमा किञ्चित विचलित नभइ होमिएर,
वैरीहरुको शीर छेदन गरी मातृभूमिको सार्वभौमसत्ता जोगाएसरी !”

अब काल बेला भैसक्यो नि………..! अब छुट पनि छैन नि हैन र………..?

एकछत्र सर्वत्र घण्टीमय गुञ्जायमान ध्वनीले देशै भैसक्यो गुलजार पनि,
अनि वाचा पुरा गर्ने प्रण सहित लिइसकियो सपथ र सरकार गठन पनि,
अब कस्लाइ कुर्नुपर्छ र देशलाइ सहि गति दिइ गन्तव्यमा पुर्‌याउन ?
अब निर्विकल्प कसैलाइ नि छुट छैन यहाँ, वाचा अनुरुप सत्कर्म गर्नलाइ,
यदि सत्कर्म गर्नलाइ आँट/हुटहुटी नभइ पछि हट्न खोजिए,
सुँईकुच्चा ठोकी बेपत्ता हुँदा नै जाति हुन्छ नै अहिले ।

अब दुष्कर्मको सोच, प्रपञ्च र अभिप्राय रचि छिरेका धमिराहरु माथि,
चनाखो भइ निगरानि बढाइ कानूनत: हुर्मत लिन समेत चुक्नुहुन्न कदापि ।
सामर्थ्य नभएकाहरुलाइ प्रधान जिम्मेवारीमा राख्ने गल्ति किन गर्ने हो र ?
अनि जिम्मेवारी लिइ गिजोलेर अलपत्र छाड्ने कामचोरहरुको अभिष्टलाइ निस्तेज पार्न,
आमनागरिकहरुको कठघरामा सार्वजनिक गरी नङ्ग्याउन समेत चुक्नुहुन्न अब ।

चरम बेथिति, प्रतिशोध र दम्भले भरिएको कुशासनले निम्त्याएको आन्दोलनमा,
जेनजी समूहका अवोध युवाहरुले बगाएको रगतको जगमा आएको परिवर्तनलाइ,
आत्मसात् गर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायमको लागि कसम खानु छ ।
प्रण गर्नु छ! यदि आवश्यक ठानिए नीति नियम समेत संशोधन/परिवर्तन गरी,
भ्रष्ट एवं कुत्सित मनसाय बोकेकाहरूको कुकर्महरुको पर्दाफास गर्दै,
दण्डहीनताको पूर्णकालीन अन्त्यकोलागि कठोर कदम चाल्न,
अनि देशलाइ सहि दिशानिर्देशको लागि कदापि पछि पर्ने छैन भनेर ।

म/मैले भन्ने दम्भ र अहंकारले भरिएको चुरीफुरी बोकेर आत्मरतिमा रमाएर होइन,
नेपाली-नेपाली बिच कुत्सित मनसाय अनुरुप जुधाएर अनि फुटेर/फुटाएर पनि होइन,
काँधमा काँध, हातमा हात मिलाएर सहयोगी मनहरुलाइ जोड्दै होस्टे हैंसे गर्दै,
मुलुक र जनताले अपेक्षा गरेको विकास र समृद्धिको लक्ष्य हरहालतमा प्राप्त गर्नु छ….छ ।

विगतका तितामिठा अनि प्रतिशोधले भरिएका कलुसित भावनाहरुलाई त्याग्दै,
यथास्थानमा थाँती राख्दै, अनि हामी सबै मिलेर नमिलेका प्रसङ्ग मिलाउँदै,
बनाउनु पर्छ…पर्छ, प्रणाली/पद्धतिमा आधारित देश-पाराध्वनिक गतिमा शान्त, समृद्ध र वैभवशाली ।