ओली–लेखक पक्राउप्रति तरुण दलको कडा आपत्ति ‘राजनीतिक प्रतिशोधले देश अस्थिर बन्ने दावी


काठमाडौं ।

नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै त्यसलाई राजनीतिक प्रतिशोधबाट प्रेरित कदम भएको आरोप लगाएको छ। शनिबार जारी प्रेस विज्ञप्तिमा तरुण दलका अध्यक्ष विद्वान गुरुङले उक्त कदमलाई एकपक्षीय र दुराशयपूर्ण निर्णयको संज्ञा दिँदै यसले लोकतान्त्रिक मूल्य–मान्यता माथि गम्भीर प्रहार गरेको बताएका छन्। उनले यस्ता गतिविधिले देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको चेतावनी दिएका छन्।

तरुण दलले वर्तमान घटनाक्रमले राजनीतिक वातावरण झनै तनावग्रस्त बन्ने सम्भावना रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। संगठनले कानुनी प्रक्रिया र विधिसम्मत ढंगले मात्र यस्ता संवेदनशील विषयहरू अघि बढाउनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न, पारदर्शी र निष्पक्ष रूपमा कानुनी प्रक्रिया अघि बढाउन तथा राजनीतिक सहिष्णुता कायम राख्न आग्रह गरिएको छ।

साथै, देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउनु सबै राजनीतिक शक्ति र सरोकारवालाको साझा दायित्व भएको स्मरण गराइएको छ। यसैबीच, ओलीको पक्राउपछि विभिन्न राजनीतिक दल र संगठनहरूले फरक–फरक प्रतिक्रिया जनाइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यसलाई राजनीतिक प्रतिशोध भन्दै देशव्यापी आन्दोलन घोषणा गरिसकेको छ भने कानुन व्यवसायीहरूले अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्ने तयारी गरेका छन्।

उता, स्वास्थ्य समस्याका कारण पक्राउ परेका ओली हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। तरुण दलले अन्त्यमा शान्ति, स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्य आवश्यक रहेको औंल्याउँदै राष्ट्रलाई अस्थिर बनाउने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने चेतावनी दिएको छ।