ओली पक्राउविरुद्ध एमालेको सडक संघर्ष सुरु २३ जनसंगठनलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय


काठमाडौं ।

नेकपा (एमाले) ले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध आफ्ना जनसंगठनहरूलाई देशव्यापी रूपमा सडकमा उतार्ने निर्णय गरेको छ। शनिबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले आजै दिउँसो ३ बजे देशभर जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। एमालेसँग आबद्ध २३ वटा जनसंगठनलाई समन्वय गरेर प्रदर्शनलाई व्यापक बनाइने जनाइएको छ।

एमालेले अध्यक्ष ओली पक्राउ परे त्यसको कडा प्रतिरोध गर्ने चेतावनी यसअघि नै विज्ञप्तिमार्फत सरकारलाई दिएको थियो। सोहीअनुसार पार्टीले तत्काल सडक संघर्षको कार्यक्रम घोषणा गर्दै आन्दोलनलाई औपचारिक रूप दिएको हो। आज बिहान सबेरै अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि एमालेभित्र तीव्र राजनीतिक प्रतिक्रिया देखिएको छ। पक्राउलगत्तै पार्टीले आकस्मिक रूपमा सचिवालय बैठक डाकी आन्दोलनका कार्यक्रम तय गरेको हो।

यसैबीच, एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण कदम भएको आरोप लगाउँदै कानुनी लडाइँसँगै सडक आन्दोलनलाई सँगसँगै अघि बढाउने रणनीति अपनाएको छ। पार्टीले आजको प्रदर्शनपछि भोलिदेखि थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउने संकेत पनि दिएको छ।

साथै, अन्य राजनीतिक दल, नागरिक समाज र आम जनतासँग सहकार्य गर्दै ओलीको रिहाइका लागि जनदबाब सिर्जना गर्ने तयारी गरिएको छ। उता, पक्राउ परेका ओली स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था निगरानीमा राखेका छन्। एमालेको यो निर्णयसँगै ओली पक्राउ प्रकरणले अब देशव्यापी राजनीतिक तरंग सिर्जना गर्ने र सडकदेखि अदालतसम्म बहस चर्किने संकेत देखिएको छ।