धरपकडविरुद्ध प्रेस चौतारीको आपत्ति


काठमाडौं ।

प्रेस चौतारी नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकमाथि भएको धरपकडको विरोध गरेको छ। संगठनले सरकारको कदमलाई निषेधकारी र प्रतिशोधपूर्ण भन्दै तत्काल रिहा गर्न माग गरेको हो।

वक्तव्यमा भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाइएको छ। सञ्चारकर्मीमाथि बढ्दो असुरक्षा र धम्कीप्रति पनि चौतारीले चिन्ता व्यक्त गरेको छ।

प्रेस चौतारीले विधिको शासनको पालना गर्न र देशलाई द्वन्द्वतर्फ धकेल्ने गतिविधि रोक्न सरकारलाई आग्रह गरेको छ। साथै, यस्ता कार्यविरुद्ध एकजुट हुन सबै सरोकारवालालाई आह्वान गरेको छ।

प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण

प्रेस वक्तत्व

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली काँग्रेसका नेता रमेश लेखकमाथि नवगठित सरकारले गरेको धरपकडप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । २०८२ भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति सम्बन्धमा निष्पक्ष छानबिन गर्ने र भदौ २४ गते भएको प्रदर्शनीलाई विध्वंशात्मक बनाउन भएको घुसपैठ, राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण लुटपाट तथा आगजनी, सञ्चारमाध्यम तथा सञ्चारकर्मीका व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाटका घटनाहरुको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा प्रेस चौतारी नेपाल सदैब अडिग छ । अहिले पनि सञ्चारकर्मीमाथि देशभर धम्की र असुरक्षाको वातावरण छ ।

यस्तो अवस्थालाई नजरअन्दाज गरी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तयार भएको छ । अतः कानुनविद् र नागरिक समाजका अगुवाहरुको प्रतिक्रियालाई समेत वेवास्ता गर्दै कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनलाई अध्ययनबिना प्रतिशोधात्मक रुपमा कारबाहीमा लैजाने मन्त्रिपरिषद्को निर्णय निषेधकारी, पूर्वाग्रही र प्रतिशोधपूर्ण छ । प्रेस चौतारी नेपाल राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, कानुनी राज्य तथा प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ ।

यसर्थ, जीवनभर लोकतन्त्र तथा जनताको अधिकार स्थापनामा लडेका नेकपा (एमाले)का अध्यक्ष ओली र काँग्रेस नेता लेखकमाथिको धरपकड वचकना खेल मात्र भएको हाम्रो ठहर छ । सरकार तथा शक्ति हातमा भएको निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले गरिने कारबाहीले देशलाई अन्तहीन द्वन्द्वमा लैजाने अवस्था सिर्जना हुन्छ । यसैले विधिको शासन तथा कानुनी राज्यको सम्मान गर्दै ओली र लेखकलाई तत्काल रिहा गरी देशलाई मुठभेठमा जाने अवस्थाको अन्त्य गर्न हामी सरकारसँग माग गर्दछौं । साथै, यस्ता गैरकानुनी र प्रतिशोधपूर्ण कार्यविरुद्ध गोलबद्ध हुन प्रेसजगत, नागरिक समाज, कानुनविद् तथा देशप्रेमी नागरिकहरुलाई आह्वान गर्दछौं । गणेश पाण्डे अध्यक्ष प्रेस चौतारी नेपाल