काठमाडौं ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै उनीहरू निकटका कानुन व्यवसायीहरूले कानुनी प्रतिवादको प्रक्रिया अघि बढाएका छन्। पूर्वाग्रही ढंगले र विधि–प्रक्रिया मिचेर दुवै जनालाई पक्राउ गरिएको दाबी गर्दै उनीहरूका तर्फबाट आइतबार बिहान अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) को निवेदन दर्ता गर्ने तयारी गरिएको छ।
नेपालको संविधानअनुसार कुनै पनि व्यक्तिलाई गैरकानूनी रूपमा पक्राउ गरिएको ठहर भएमा स्वयं व्यक्ति वा उनका नजिकका आफन्तले अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिन पाउने व्यवस्था छ। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पक्राउ गैरकानूनी देखिएमा तत्काल रिहा गर्न आदेश दिन सक्ने कानुनी प्रावधान रहेको छ।
यसैबीच, वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमेश बडालले ओली र लेखकको पक्षमा सबै कानुनी विकल्प प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनले कानुनी लडाइँका लागि आवश्यक कागजात संकलन तथा रणनीतिक छलफल सुरु भइसकेको बताएका छन्।
उता, स्वास्थ्य समस्याका कारण ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखकलाई पनि प्रहरी हिरासतमा राखिएको छ। स्रोतका अनुसार, अदालतमा पेश गर्नुअघि दुवैको स्वास्थ्य र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापन भइरहेको छ। पछिल्लो अवस्थाअनुसार आइतबार दर्ता हुने बन्दीप्रत्यक्षीकरण निवेदनपछि अदालतको आदेशले घटनाक्रम नयाँ मोडमा जान सक्ने देखिएको छ।











प्रतिक्रिया