काठमाडौं ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहानै उनलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो।
पक्राउपछि ओलीलाई जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा ल्याएर प्रारम्भिक प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममै स्वास्थ्य अवस्थाबारे मूल्याङ्कन गर्न उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ।
अस्पताल स्रोतका अनुसार ओलीलाई ‘रेड एरिया’ अन्तर्गत २७ नम्बर बेडमा राखेर निगरानीमा राखिएको छ। उक्त क्षेत्र सामान्यतया जटिल र विशेष प्रकारका बिरामीका लागि प्रयोग गरिन्छ।
प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार ओलीको स्वास्थ्य परीक्षणमा विशेष गरी मिर्गौला सम्बन्धी विशेषज्ञ चिकित्सक संलग्न हुनेछन्। परीक्षणपछि प्राप्त चिकित्सकीय सुझावका आधारमा थप कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जनाइएको छ।
ओलीको स्वास्थ्य अवस्था र परीक्षणको नतिजाबारे आधिकारिक विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
ओलीलाई पक्राउ गरिएको विषयले राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न गरेको छ। जेनजी आन्दोलन दमनसँग जोडिएको आरोपमा उनीमाथि कारबाही सिफारिस गरिएको बताइए पनि यसबारे विस्तृत आधिकारिक धारणा सम्बन्धित निकायले सार्वजनिक गरिसकेको छैन।
यस घटनापछि विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूको ध्यान केन्द्रित भएको छ।
यसैबीच, एमाले निकट स्रोतहरूले ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै कानुनी प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने बताएका छन्।
उनीहरूले स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उचित उपचार र मानवअधिकारको पूर्ण सम्मान गरिनुपर्ने मागसमेत राखेका छन्।
प्रहरीले भने कानुन बमोजिम प्रक्रिया अघि बढाइएको दाबी गरेको छ। ओलीमाथि लगाइएका आरोप र अनुसन्धानको अवस्थाबारे थप विवरण आवश्यक परेमा सार्वजनिक गरिने जनाइएको छ।
ओलीको स्वास्थ्य परीक्षणपछि उनलाई पुनः प्रहरी नियन्त्रणमै राखिने वा अन्य कुनै प्रक्रिया अपनाइने भन्ने विषय चिकित्सकको सिफारिस र कानुनी प्रावधानअनुसार तय गरिने बताइएको छ। घटनाक्रमले आगामी दिनमा राजनीतिक तथा कानुनी बहसलाई थप तीव्र बनाउने संकेत देखिएको छ।











प्रतिक्रिया