काठमाडौं ।
नेपालका नयाँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह नियुक्त भएसँगै अन्तर्राष्ट्रिय समुदायबाट बधाई र सहकार्यका सन्देशहरू आउने क्रम तीव्र बनेको छ । विशेषगरी दुई छिमेकी मुलुक चीन र भारतले साह नेतृत्वसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट सन्देश दिएका छन् । जसलाई नेपालको कूटनीतिक भविष्यका लागि महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री पद सम्हालेसँगै चीनले औपचारिक रूपमा बधाई व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालस्थित चिनियाँ दूतावासमार्फत पठाएको सन्देशमा प्रधानमन्त्री शाहलाई हार्दिक बधाई दिँदै नेपालसँगको परम्परागत मित्रता अझ सुदृढ बनाउन चाहेको उल्लेख गरेको छ । दूतावासले सार्वजनिक गरेको सन्देशमा भनिएको छ, चीनले नयाँ सरकारसँग मिलेर व्यावहारिक सहकार्यलाई थप विस्तार गर्न चाहन्छ । यसलाई चीनले नेपालसँगको रणनीतिक सम्बन्धलाई निरन्तरता दिने संकेतका रूपमा बुझिएको छ ।
उता, दक्षिणी छिमेकी भारतले पनि प्रधानमन्त्री शाहलाई बधाई दिँदै सहकार्यका लागि तत्परता देखाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिँदै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढ्ने उल्लेख गर्नुभएको छ ।
त्यसै गरी भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि नेपालसँगको सहकार्यलाई निरन्तरता दिने बताउनुभएको छ । उहाँले दुई देशबीचको साझेदारीलाई अझ प्रभावकारी बनाउँदै विकास, पूर्वाधार र क्षेत्रीय स्थायित्वमा मिलेर काम गर्ने संकेत गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाले पनि प्रधानमन्त्री साहको नियुक्तिलाई स्वागत गर्दै बधाई दिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको सन्देशमा नेपालसँगको लोकतान्त्रिक मूल्य, आर्थिक सहकार्य र विकास साझेदारीलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाइएको छ । अमेरिका–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अवसरका रूपमा साहको नेतृत्वलाई हेरिएको टिप्पणी गरिएको छ ।
यसैबीच, युरोपेली संघ, जापान, बेलायतलगायत अन्य मित्रराष्ट्रहरूले पनि बधाई सन्देश पठाउँदै नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । ती देशहरूले नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनमा सहकार्य गर्न चाहेको जनाएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेन्द्र साहको नेतृत्वले नेपालको कूटनीतिक दिशामा नयाँपन ल्याउनसक्ने अपेक्षा गरिएको छ । शाह काठमाडौं महानगरपालिकाको मेयरका रूपमा उदाएका युवा नेतृत्व हुनुहुन्छ । जसले सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीका कारण लोकप्रियता कमाउनुभएको थियो । यही पृष्ठभूमिका कारण अन्तर्राष्ट्रिय समुदायले पनि उहाँको नेतृत्वलाई चासोपूर्वक हेरेको विश्लेषण गरिएको छ ।
विशेषगरी नेपाल दुई ठूला शक्ति—चीन र भारत—बीचको भूराजनीतिक सन्तुलनमा रहेको मुलुक भएकाले नयाँ नेतृत्वले कसरी सन्तुलित कूटनीति सञ्चालन गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । यसबीच अमेरिका र अन्य पश्चिमा मुलुकहरूले पनि नेपालसँगको सहकार्यलाई निरन्तरता दिन चाहनु, नेपालको रणनीतिक महत्व अझ बढ्दै गएको संकेत हो ।
प्रधानमन्त्री शाहले छिट्टै छिमेकी मुलुकका दूतावास प्रतिनिधिहरूसँग भेटघाट गर्ने तयारी थाल्नुहुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक चरणमा चीन, भारत र अमेरिकाका राजदूतसँग शिष्टाचार भेट तय गर्ने तयारी भइरहेको छ । यससँगै नयाँ सरकारको परराष्ट्र नीति प्राथमिकता निर्धारणको प्रक्रिया पनि अघि बढाइएको छ । स्रोतका अनुसार आर्थिक कूटनीति, लगानी आकर्षण, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर विदेश नीति अघि बढाइनेछ ।











प्रतिक्रिया