–राजनीतिक स्थिरता, सुशासन र सुधारको आशा बढ्यो
काठमाडौं ।
जनताको अपेक्षा, निराशा र परिवर्तनको तिर्खाबीच एक नयाँ अध्याय सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार बिहान संविधानको धारा ७६(१) अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’लाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेसँगै देशले ३५ वर्षपछि सबैभन्दा युवा र कान्छो नेतृत्व पाएको छ । यससँगै मुलुकमा राजनीतिक स्थिरता, सुशासन र सुधारको आशा बढेको छ ।
एकसाथ अनेक इतिहास रच्दै शाह नेपालको ४३औं प्रधानमन्त्री बन्नुभएको छ । दलतन्त्रको जर्जर अवस्था, भ्रष्टाचार र राज्य संयन्त्रको असफलताबाट निराश सर्वसाधारणले नयाँ सरकारबाट ठूलो आशा गरेका छन् । स्वच्छ छवि, पारदर्शी काम गर्ने शैली र जनमुखी नेतृत्वको प्रतिज्ञासहित प्रधानमन्त्री बन्नुभएका शाहप्रति जनताको विश्वास सांकेतिक रूपमा ‘बालेन युग’ का रूपमा चित्रण गरिएको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेतासमेत रहनुभएका शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो । मध्याह्न १२ बजेर ३४ मिनेटमा शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । शाहले हिन्दु र बौद्ध धार्मिक विधिबमोजिम राष्ट्रपति पौडेलबाट शपथ लिनुभएको थियो ।
प्रधानमन्त्री बालेनको शपथ समारोहलाई परम्परा, संस्कृति र राष्ट्रिय एकताको अद्वितीय संगमका रूपमा भव्य बनाइएको थियो । समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकद्वारा स्वस्ति शान्ति वाचन, महायानी बौद्ध परम्पराअनुसार १०८ लामाद्वारा मंगल पाठ तथा १६ भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो । त्यस क्रममा वातावरणले कार्यक्रमलाई आध्यात्मिक र सांस्कृतिक ऊर्जाले थप भव्य बनाएको थियो ।
योग र अध्यात्मका अनुसार मानव शरीरमा सातवटा मुख्य ऊर्जाहरू (चक्र) हुन्छन् शंंखको ध्वनिले उत्पन्न गर्ने कम्पनले ती सात चक्रहरू मूलाधारदेखि सहस्रारसम्मलाई जागृत र सन्तुलित बनाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै, ७ वटा शंख बजाउनुलाई सप्त ऋषिको उपस्थिति र आशीर्वाद प्राप्त गर्ने माध्यमको रूपमा लिइन्छ । सातको संख्यालाई पूर्णताको प्रतीक मानिने हुनाले, यसले पूर्ण विजय, सुख र समृद्धिको संकेतसमेत गर्ने हिन्दु धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यस्तो प्रयोग शपथमा पहिलोपटक भएको बताइएको छ । त्यसै गरी भगवान गौतम बुद्धले देशना गर्नुभएको मंगल सूत्र पाठ र श्रवण गर्नाले देशमा भय, अन्तराय हट्न र सुख शान्ति मिल्ने जनविश्वास रहेको छ ।
यसअघि सुशीला कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको कीर्तिमानी कायम गर्नुभएको थियो भने शाह नेपालका इतिहासमा मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बन्नुभएको छ । उहाँ ३६ वर्षको हुनुहुन्छ । २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि जन्मिएका व्यक्ति प्रधानमन्त्री हुने बालेन पहिलो व्यक्ति हुनुहुन्छ ।
बालेन नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ र युवा अनुहारको वर्चस्व छ । मन्त्रिपरिषद् चयन गर्दा लैंगिक समावेशीसँगै सामाजिक समावेशीलाई पनि मध्यनजर गरिएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना त ४० वर्षमुनिका रहेका छन् ।
नवनियुक्त मन्त्रीहरूमा गृहमा सुधन गुरुङ ३८ वर्ष, भौतिक पूर्वाधारमा सुनील लम्साल ३५, स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता ३८, संघीय मामिला तथा सामान्य प्रशासनमा प्रतिभा रावल ३२, कानुन न्याय तथा संसदीय मामिलामा सोविता गौतम ३०, कृषि तथा पशुपंक्षी विकासमा गीता चौधरी ३२, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा दीपककुमार साह ३४ र महिला, बालबालिका तथा समाजकल्याणमा सीता वादी ३० वर्षका रहेका छन् । ३० वर्षमुनिकोमा शिक्षा, विज्ञान तथा प्रविधि र युवा खेलकुदमा सस्मित पोखरेलमात्र रहनुभएको छ ।
४० देखि ५० वर्ष उमेरका ४ जना मन्त्री छन् । परराष्ट्रमा शिशिर खनाल ४७, ऊर्जा जलस्रोत तथा सिँचाइमा विराजभक्त श्रेष्ठ ४४, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमा खडकराज पौडेल ४६, सञ्चार तथा सूचना प्रविधिमा डा. विक्रम तिमिल्सिना ४३ वर्षका हुनुहुन्छ ।
५० वर्षमाथिकामा अर्थमन्त्री स्वर्णिम वाग्लेमात्र हुनुहुन्छ । प्रधानमन्त्री बालेनभन्दा कम उमेरका ७ जना र माथि उमेरका ७ जना मन्त्री छन् । अघिल्ला मन्त्रिपरिषद्को तुलनामा अहिलेको मन्त्रिपरिषद् समावेशी देखिन्छ । मन्त्रिपरिषद्मा सबैभन्दा बढी खस आर्य समुदायबाट ५३.३३, महिलाबाट ३३.३३ प्रतिशत छ । यस्तै मधेसी २० प्रतिशत, जनजाति १३.३३ प्रतिशत, थारू र दलित समुदायको प्रतिनिधित्व ६.६६ प्रतिशत छ । मुस्लिम समुदायको उपस्थिति शून्य छ ।
इतिहासकै कान्छो प्रधानमन्त्री
जनआन्दोलन २०४६÷४७ पछि बनेका सरकारहरूको इतिहासमा बालेन सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नुभएको छ । ३६ वर्षको उमेरमै कार्यकारी नेतृत्वमा पुग्नुभएका उहाँप्रति युवापुस्तादेखि आम नागरिकसम्मको अपेक्षा उच्च छ । रास्वपामा प्रवेशपछि छोटो समयमै बालेन नेतृत्वले आमनिर्वाचनमा उल्लेखनीय सफलता हासिल ग¥यो ।
जनताले पुराना दलप्रति बढ्दो वितृष्णाबीच नयाँ विकल्पका रूपमा बालेनलाई विश्वास गरेका छन् । बालेनको काँधमा केवल सत्ता होइन, सुशासनको पुनस्र्थापना, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार र युवाको विश्वास जोगाउने जिम्मेवारी छ । यो सरकार अवसर पनि हो, परीक्षा पनि ‘अब नाराबाट होइन, नतिजाबाट विश्वास जित्नुपर्छ’ । युवापुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका बालेनका लागि यो केवल राजनीतिक उपलब्धि होइन, इतिहास बदल्ने अवसर हो । अब हेर्न बाँकी छ– जनताको आशाले कोरेको यो नयाँ युग यथार्थमा कति रूपान्तरण हुन्छ ।

बालेन टिम : नयाँ अनुहार, नयाँ परीक्षण
बालेनबाट जनअपेक्षा
–भ्रष्टाचारमा ‘शून्य सहनशीलता’
–प्रशासनिक सुधार
–सेवा प्रवाहमा डिजिटलाइजेसन
–रोजगारी र आर्थिक सुधार
मुख्य चुनौती
–पुरानो कर्मचारी संयन्त्र
–राजनीतिक दबाब
–जनअपेक्षाको उच्च स्तर











प्रतिक्रिया