काठमाडौँ
विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले दोस्रो प्रभातफेरी कार्यक्रम (वाकाथन) सफलतापूर्वक सम्पन्न गरेको छ । गत वर्षदेखि सुरु गरिएको यस कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्व उजागर गर्दै पानी स्रोतको दिगो व्यवस्थापनका लागि विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ । सन् २०२६ को नारा “पानी र लैङ्गिक समानता” ले सुरक्षित पानी, सरसफाइ तथा समान सहभागिताको आवश्यकतामा जोड दिएको छ ।
यसै सन्देशसँग ऐक्यबद्धता जनाउँदै सिद्धार्थ बैंकले सुरक्षित पिउने पानी र सरसफाइमा पहुँच विस्तारसँगै लैङ्गिक समानता प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
बैंकका अनुसार चालु आर्थिक वर्षभित्र देशभरका सार्वजनिक स्थानहरूमा ९ वटा पानी शुद्धीकरण (वाटर प्युरिफायर) प्रणाली जडान गर्ने तथा जलस्रोत वरपर सरसफाइ अभियान सञ्चालन गर्ने योजना रहेको छ । यसबाट सर्वसाधारणलाई स्वच्छ पिउने पानी उपलब्ध गराउँदै जनस्वास्थ्य सुधारमा योगदान पु¥याउने लक्ष्य लिइएको छ ।
प्रभातफेरी नक्साल नारायणचौरबाट सुरु भई हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग र गैरिधारा हुँदै पुनः नक्साल पुगेर समापन भएको थियो। करिब ५ किलोमिटर लामो उक्त कार्यक्रममा पानीको सदुपयोग, सरसफाइ र लैङ्गिक समानतासम्बन्धी सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा ६९७ भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो, जसमा २६४ महिला र ४३३ पुरुष सहभागी भएका थिए। बैंकले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको थियो ।











प्रतिक्रिया