काठमाडौँ
कुमारी बैंक लिमिटेड ले मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ गर्दै आफ्नो डिजिटल बैंकिङ यात्रामा नयाँ उपलब्धि हासिल गरेको छ ।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले बिहीबारदेखि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी दिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले डिजिटल रूपान्तरण र ग्राहकमैत्री सेवामा बैंकले निरन्तर अग्रसरता लिँदै आएको उल्लेख गर्दै मास्टरकार्डजस्ता विश्वव्यापी भुक्तानी प्रणालीले सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन् ।
कार्यक्रममा प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्रकारले मास्टरकार्डको प्रयोग, यसको महत्व तथा ग्राहकलाई हुने फाइदाबारे जानकारी दिँदै यस डेबिट मास्टरकार्डले भौतिक र डिजिटल दुवै माध्यममा सुरक्षित तथा सहज कारोबार गर्न सकिने बताएका छन् । उक्त कार्ड नेपाल, भारत र भुटानका मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पिओएसमा प्रयोग गर्न सकिने र छिट्टै क्रेडिट कार्ड सेवा पनि सुरु गरिने बैंकले जनाएको छ। साथै, अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानी पनि यसमार्फत सहज हुने उल्लेख गरिएको छ ।
विगत २४ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका २९७ शाखा सञ्जाल, ३१५ एटीएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा पनि डिजिटल कारोबारलाई प्राथमिकता दिँदै थप सहज र उत्कृष्ट सेवा विस्तार गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।











प्रतिक्रिया