पाटन दरबार क्षेत्रमा शुक्रबार शाक्य बज्राचार्य सम्मेलन हुने


ललितपुर।

शाक्य बज्राचार्य समाज ललितपुरले शुक्रबार पाटन दरबार क्षेत्रमा परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी र बृहत् जनसभा सहित सम्मेलन गर्ने भएको छ। नेवाः बौद्ध परम्पराअनुसार वयोवृद्ध आजुहरूलाई दानप्रदान गर्दै नेवाः समुदायकै पहिलो कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले साे सम्मेलनकाे उद्घाटन गर्ने छन् ।साे सम्मेलनले ललितपुरका शाक्य बज्राचार्य समुदायलाई हक–अधिकारका लागि एकजुट गराउने समाजका अध्यक्ष जगतमुनि शाक्यले बताएका छन्।

सम्मेलनको पहिलो दिन शुक्रबार बिहान पाटन दरबार क्षेत्रमा भेला भई परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित नगरपरिक्रमा गरिने छ। त्यसपछि दिउँसो नेवाः बौद्ध परम्पराअनुसार ललितपुरका विभिन्न बहाःबहीका वयोवृद्ध आजुहरूलाई दान प्रदान गर्ने कार्यक्रम रहेको छ। साँझसम्म मंगलबजारस्थित कार्तिक डबलीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने सोही दिन बृहत् जनसभाको समेत आयोजना गरिएको छ।सम्मेलनमा विभिन्न क्षेत्रमा क्रियाशील शाक्य बज्राचार्यहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ।

दोस्रो दिन शनिबार भने राजनीतिक, सामाजिक अधिकार र संगठन सुदृढीकरणका विषयमा केन्द्रित विचार गोष्ठी आयोजना गरिने समाजले जनाएको छ। उक्त गोष्ठीले समुदायभित्रका विभिन्न मुद्दामा गहन छलफल गर्दै आगामी रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ।

शाक्य बज्राचार्य समाज ललितपुरका प्रथम उपाध्यक्ष आशारत्न शाक्यले यस सम्मेलनले ललितपुरका शाक्य बज्राचार्यबीच एकता र मैत्रीपूर्ण भावनाको विकास गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमका लागि ललितपुर महानगरपालिका–१६ वडा कार्यालय, विभिन्न महानुभाव तथा संघसंस्थाको सहयोग रहेको समाजले जनाएको छ। सात वर्षअघि स्थापित यस समाजले यस सम्मेलन मार्फत आफ्नो सक्रियता र सामूहिक अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।