काठमाडौं ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि वाणिज्य बैंकहरूमा पुँजीकोष (क्यापिटल एडिक्वेसी) दबाब देखिँदा कर्जा विस्तार प्रभावित बनेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आधा दर्जनमा पुँजीकोष अनुपात नियामकीय सीमाको नजिक पुगेको छ ।
बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि जोखिम भारित सम्पत्तिमा कमी नआउँदा पुँजी अनुपात घट्दै गएको देखिन्छ । साथै, खराब कर्जा (एनपीएल) बढ्दै जाँदा त्यसको नोक्सानी व्यवस्था (प्रोभिजनिङ) गर्नुपर्ने बाध्यताले बैंकको नाफा घटाउँछ र त्यसको सीधा असर पुँजी कोषमा पर्छ । २० वाणिज्य बैंकको औसत प्राथमिक पुँजी कोष ९.४८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ९.६८ प्रतिशत थियो ।
एक वर्षमै ०.२० प्रतिशतले घट्दा पुँजी दबाब बढ्दो प्रवृत्तिमा देखिएको छ । हाल बैंकहरूमा करिब ११ खर्ब रुपियाँ बराबरको लगानीयोग्य रकम भए पनि कर्जा माग कमजोर छ । आर्थिक गतिविधिमा सुस्ती, उद्योग–व्यवसाय विस्तार नहुनु र समग्र माग घट्नु यसको मुख्य कारण मानिएको छ । पुँजीकोष कमजोर भएका बैंकहरूले चाहेर पनि कर्जा विस्तार गर्न सक्दैनन् । नियामक व्यवस्था अनुसार यस्तो अवस्थामा बैंकहरूले लाभांश वितरण गर्न समेत पाउँदैनन् ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार न्यूनतम प्राथमिक पुँजी कोष ८.५ प्रतिशत, न्यूनतम कुल पुँजी कोष ११ प्रतिशत हुनुपर्छ । यदि कुनै त्रैमासमा प्राथमिक पुँजी अनुपात ८.५ प्रतिशतभन्दा तल झर्छ भने सो आर्थिक वर्षमा लाभांश वितरण गर्न पाइँदैन ।
सबैभन्दा धेरै दबाब हिमालयन, प्रभु र सिटिजन्स बैंकमा देखिएको छ । पुससम्म हिमालयन बैंकको प्राथमिक पुँजी अनुपात ८.१९ प्रतिशतमा झरेको छ, जुन न्यूनतम ८.५ प्रतिशतभन्दा तल हो । प्रभु बैंकको ८.६८ प्रतिशत र सिटिजन्स बैंकको ८.६९ प्रतिशत रहेको छ । पुँजी दबाब कम गर्न केन्द्रीय बैंकले अविमोच्य अग्राधिकार सेयर जारी गर्ने विकल्प खुला गरिसकेको छ । केही बैंकले यस्तो सेयर जारी गरिसकेका छन् भने अन्य प्रक्रिया मै छन् ।
यो अवस्था बैंकिङ क्षेत्रमा देखिएको विरोधाभास हो । एकातिर प्रशस्त तरलता, अर्कोतिर कर्जा विस्तारमा अवरोध । यसले देखाउँछ कि समस्या तरलताभन्दा बढी पुँजी संरचना र जोखिम व्यवस्थापनमा केन्द्रित छ । बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार खराब कर्जा नियन्त्रण नगरेसम्म पुँजी दबाब घट्दैन, नाफा घट्दा पुँजी निर्माण क्षमता कमजोर हुन्छ ।
पुँजी वृद्धि नगरी दीर्घकालीन विस्तार सम्भव हुँदैन । बैंकिङ क्षेत्रमा देखिएको पुँजीकोष दबाबले निकट भविष्यमा कर्जा विस्तार, लगानी प्रवाह र आर्थिक गतिविधिमा असर पार्न सक्छ । त्यसैले बैंकहरूले खराब कर्जा घटाउने, पुँजी वृद्धि गर्ने र जोखिम व्यवस्थापन सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।











प्रतिक्रिया