नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई पूर्णरूपमा क्षयरोगमुक्त बनाउने महत्वाकांक्षी लक्ष्य लिएको छ । तर वर्तमान तथ्यांकहरू हेर्दा यो लक्ष्य हासिल गर्न अझै लामो र चुनौतीपूर्ण यात्रा बाँकी रहेको स्पष्ट देखिन्छ ।
हरेक वर्ष करिब ६७ हजार नयाँ बिरामी थपिनु, करिब १६ हजारको मृत्यु हुनु र अझै पनि ४२ प्रतिशत बिरामी उपचारको पहुँचभन्दा बाहिर रहनु चिन्ताको विषय हो । क्षयरोग (टीबी) अझै पनि नेपालमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा विद्यमान छ । राज्यले निःशुल्क परीक्षण र उपचार सेवा उपलब्ध गराए पनि त्यसको लाभ सबैसम्म समानरूपमा पुग्न सकेको छैन ।
देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध हुनु सकारात्मक पक्ष हो तर सेवा उपलब्धता र पहुँचबीचको खाडल अझै गहिरो छ । विशेष गरी दुर्गम क्षेत्र, आर्थिक रूपमा कमजोर वर्ग र सामाजिक रूपमा पछाडि पारिएका समुदायहरूमा रोग पहिचान र उपचारको अवस्था सन्तोषजनक छैन ।
यस समस्याको जडमा केवल स्वास्थ्य सेवा अभाव मात्र छैन, सामाजिक र संरचनात्मक कारणहरू पनि उत्तिकै जिम्मेवार छन् । क्षयरोगलाई अझै पनि ‘कलंक’का रूपमा हेर्ने प्रवृत्तिले धेरै बिरामीलाई समयमै परीक्षण र उपचारबाट टाढा राखेको छ ।
रोग लुकाउने प्रवृत्ति, जनचेतनाको कमी र स्वास्थ्यसम्बन्धी आधारभूत जानकारीको अभावले संक्रमण फैलन सहयोग गरिरहेको छ । अर्को महत्वपूर्ण पक्ष भनेको पत्ता नलागेका बिरामीहरूको ठूलो संख्या छ । जबसम्म रोग पहिचानमै कमी रहन्छ, तबसम्म नियन्त्रणका प्रयासहरू प्रभावकारी हुन सक्दैनन् । औषधि प्रतिरोधी क्षयरोगको बढ्दो चुनौती पनि उत्तिकै चिन्ताजनक छ ।
यद्यपि औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत उपचार सफलता दर उत्साहजनक देखिए पनि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत सफलता दर अझै सुधारको अपेक्षा राख्दछ ।
सरकारले विभिन्न कार्यक्रम, अभियान र पूर्वाधार विस्तारमार्फत प्रयास गरिरहेको छ । स्थानीय तहसम्म ‘क्षयरोगमुक्त अभियान’ विस्तार गर्नु, आधुनिक परीक्षण प्रविधि ल्याउनु र निःशुल्क सेवा सुनिश्चित गर्नु सकारात्मक कदम हुन् । तर यी प्रयासहरूलाई अझ प्रभावकारी बनाउन बहुक्षेत्रीय समन्वय आवश्यक छ । स्वास्थ्य क्षेत्र मात्र होइन, शिक्षा, सञ्चार, सामाजिक विकास र निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ । अबको रणनीति स्पष्ट हुनुपर्छ– ‘खोज, उपचार र रोकथाम’ ।
समुदाय स्तरमा सक्रिय खोजलाई प्राथमिकता दिनुपर्छ । जोखिम समूहहरूको नियमित स्क्रिनिङ, घरदैलोमा सेवा विस्तार र मोबाइल स्वास्थ्य सेवा प्रभावकारी हुन सक्छन् । साथै उपचार शुरु गरेका बिरामीलाई पूरा अवधि औषधि सेवन गराउने सुनिश्चितता अत्यन्त जरुरी छ । जनचेतना अभिवृद्धि अर्को महत्वपूर्ण पक्ष हो । क्षयरोग निको हुने रोग हो भन्ने सन्देश स्पष्टरूपमा समुदायसम्म पु¥याउनुपर्छ । कलंक हटाउने, खुलारूपमा उपचार लिन प्रोत्साहन गर्ने र स्वास्थ्य सेवाप्रति विश्वास बढाउने कार्यमा सञ्चारमाध्यम, नागरिक समाज र स्थानीय नेतृत्वको भूमिका निर्णायक हुन्छ ।
क्षयरोग अन्त्य केवल सरकारी लक्ष्य मात्र होइन, राष्ट्रिय दायित्व पनि हो । यसका लागि पर्याप्त बजेट विनियोजन, मानवस्रोतको सुदृढीकरण र निगरानी प्रणालीको मजबुती आवश्यक छ । यदि हालकै गति र कमजोरी कायम रहने हो भने २०३५ र २०५० का लक्ष्यहरू कागजी सीमामै सीमित हुन सक्छन् । त्यसैले अब समय आएको छ– नीति होइन, परिणाममा केन्द्रित हुने । हरेक बिरामीसम्म पुग्ने, हरेक संक्रमण रोक्ने र हरेक नागरिकलाई सचेत बनाउने साझा प्रयासविना क्षयरोग अन्त्य सम्भव छैन । सरकार, समाज र नागरिक सबैको एकीकृत प्रयासले मात्र यो लक्ष्य यथार्थमा परिणत हुन सक्छ ।











प्रतिक्रिया