काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार पनि जारी रहँदा पार्टीभित्र १५औं महाधिवेशनको कार्यतालिका, आन्तरिक विवाद र संगठनात्मक पुनर्संरचनाका विषयमा तीव्र छलफल भइरहेको छ ।
पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकमा मंगलवार प्रस्तुत गरिएका ११ वटा एजेन्डामाथि केन्द्रित भएर छलफल भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । बैठकले कांग्रेसको १५औँ महाधिवेशनको मिति तय गर्ने तयारी गरेको छ ।
मंगलवार सभापति गगन थापाले भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सोही प्रस्तावमाथि अहिले छलफल भइरहेको छ ।
महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले प्रस्तुत गरेको कार्यतालिकाअनुसार चैत २१ गतेदेखि क्रियाशील सदस्यताको फारम वितरण सुरु गरिने र वैशाख महिनाभर नवीकरण तथा नयाँ सदस्यता वितरण गरिनेछ । सभापति थापाले ‘महाधिवेशनको गाडी अघि बढिसकेको र अब नरोकिने’ स्पष्ट पार्दै विशेष महाधिवेशनमा सहभागी भए÷नभएका सबैलाई नियमित महाधिवेशनमा सहभागी गराइने बताउनुभएको थियो । उहाँले पार्टीभित्रका विकृति हटाएर व्यापक रूपान्तरण गर्ने लक्ष्यसमेत व्यक्त गर्नुभएको छ ।
तर, विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशनको प्रक्रियामा अन्योल देखिएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई मान्यता दिएपछि त्यसविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । उक्त मुद्दा हालसम्म टुंगिएको छैन । नेता श्यामकुमार घिमिरेले अदालतसँग छिटो फैसला दिन आग्रह गर्दै मुद्दा लम्बिँदा संस्थाप्रति विश्वास घट्ने खतरा रहेको बताउनुभएको छ । उहाँका अनुसार अदालतको निर्णयपछि मात्रै स्पष्ट रूपमा महाधिवेशनतर्फ अघि बढ्न सहज हुनेछ ।
विशेष महाधिवेशनपछि बनेको कार्यसमितिमा देउवा पक्षको सहभागिता नरहेको अवस्थामा पार्टीभित्र दुई धारबीचको विवाद अझै समाधान हुन सकेको छैन । तत्कालीन सभापति शेरबहादुर देउवा हाल विदेशमा रहनुभएको छ भने उहाँका निकट नेता पूर्णबहादुर खड्काले समानान्तर छलफल चलाइरहनुभएको छ । देउवा पक्षले सर्वोच्च अदालतको फैसला नआएसम्म नियमित महाधिवेशनमा जान नहुने अडान लिँदै आएको छ ।
यता, संस्थापन पक्षले भने सबै पक्षलाई समेटेर अघि बढ्ने रणनीति लिएको छ । केन्द्रीय समितिले उपसभापति पुष्पा भुसाललाई देउवा पक्षसँग संवाद गर्ने जिम्मेवारी दिएको छ । पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्न केही नेताहरूले १४औं र विशेष महाधिवेशनबाट बनेका दुई केन्द्रीय समितिलाई मर्ज गरेर महाधिवेशन आयोजक समिति बनाउने विकल्प अघि सारेका छन् ।
पूर्व सहमहामन्त्री महेन्द्र यादवले दुवै पक्षलाई समेट्ने गरी संयुक्त संरचना बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ । तर, यो प्रस्ताव दुवै पक्षले स्वीकार गर्ने÷नगर्ने स्पष्ट भइसकेको छैन । नेता नैनसिंह महरले व्यक्तिगत कुण्ठा र आवेग त्यागेर एकताबद्ध रूपमा महाधिवेशनमा होमिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ तथा शुभेच्छुक संस्थाबारे पनि निर्णय लिने तयारी गरेको छ । नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, लोकतान्त्रिक खेलकुद संघ र नेपाल थारू संघले अहिलेसम्म महाधिवेशन गर्न सकेका छैनन् । यी संगठनलाई विघटन गर्ने सम्भावनाबारे समेत छलफल भइरहेको एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
यसैबीच, नेविसंघले आफूलाई पार्टीको भ्रातृ संस्थाबाट अलग भएको घोषणा गरिसकेको छ । अध्यक्ष दुजाङ शेर्पाको उक्त निर्णयप्रति संगठनभित्रै मतभेद देखिएको छ । पार्टी विधानअनुसार यस्तो निर्णय अनुशासनको विषय बन्न सक्ने नेताहरूको भनाइ छ । विशेष महाधिवेशनपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षित सफलता हासिल गर्न सकेन । १६५ क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट गरी जम्मा ३८ सिटमात्र जितेको थियो । यसले पार्टीभित्रको असन्तोषलाई थप सतहमा ल्याएको छ ।
प्रवक्ता चालिसेले पार्टीलाई एकताबद्ध राख्दै महाधिवेशनतर्फ लैजान सबै पक्षसँग संवाद भइरहेको बताउनुभयो । नेताहरूले पनि आन्तरिक विवाद समाधान गर्दै साझा लक्ष्यका लागि अघि बढ्नुपर्नेमा जोड दिएका छन् । अब केही दिनभित्रै संसदीय दलको नेता चयन र महाधिवेशनको वातावरण निर्माणका लागि देउवा र थापा पक्षबीच निर्णायक संवाद हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया