काठमाडौँ
महिला उद्यमी महासंघ नेपालले ९औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ । चैत २० देखि २२ गते (अप्रिल ३–५) सम्म ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुने उक्त मेलाको उद्घाटन चैत २० गते गरिने जनाइएको छ ।
महासंघले २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै आएको छ भने देशभरका ७७ जिल्लामा सञ्जाल विस्तार गरी ६ हजारभन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको छ ।
मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका महिला उद्यमीका उत्पादनसँगै भारत, चीन, कोरिया र भुटानका उद्यमीको समेत सहभागिता रहनेछ । करिब १४० वटा स्टल रहने मेलामा हस्तकला, ढाका, अल्लो, गलैँचा, हाते कागज, जैविक खाद्य पदार्थ, कृषि उत्पादन, जडिबुटी, गरगहना तथा विभिन्न सेवा प्रदायक संस्थाका सामग्रीहरू आकर्षक रूपमा प्रदर्शनीमा राखिनेछन् । साथै, र्याम्प वाक, नेटवर्किङ, मेन्टर–मेण्टी कार्यक्रम, डिजिटाइजेसन तालिम र वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
मेलाले महिला उद्यमीलाई आफ्ना मौलिक उत्पादनको प्रवद्र्धन, बजार विस्तार, व्यापारिक सहकार्य तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोडिने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । करिब ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने र करिब २ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उक्त मेला महिला उद्यमशीलताको प्रवद्र्धन र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण मञ्च बन्ने आयोजकको भनाइ छ ।











प्रतिक्रिया