काठमाडौँ
उद्यमशीलता र नीतिनिर्माणबीचको दूरी कम गर्ने उद्देश्यसहित ‘लिडर्स थिङ्क इन्टरप्रेनर्स फोरम’को ललितपुर च्याप्टरले ५ चैत २०८२ मा जिम्बा ब्याङ्क्वेटमा “डिस्कसन टु पोलिसीः सेपिङ पोलिसी थ्रु इन्टरप्रेनर्स’ भ्वाइस” कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो ।
कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रह्यो, जहाँ नेपालको उद्यमशील वातावरणमा रहेका प्रमुख चुनौती र सम्भावना बारे गहन छलफल गरिएको थियो ।
व्यवसाय विस्तारमा देखिएका नियामक जटिलता, नवउद्यमीका लागि वित्तीय पहुँचको अभाव, नवप्रवर्तनमैत्री नीति निर्माणको आवश्यकता तथा सार्वजनिक–निजी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा सहभागीले आफ्नो अनुभव र सुझाव साझा गर्नुभयो ।
छलफलले उत्पादन, सेवा, प्रविधि, पर्यटन तथा हस्तकलालगायतका विविध क्षेत्रमा रहेका अवसरलाई उजागर गर्दै ती क्षेत्रहरूको विकासका लागि नीतिगत सहजीकरण, बजार पहुँच विस्तार, डिजिटलीकरण र सीप विकासमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्यायो । विशेषगरी हस्तकला क्षेत्रलाई नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको उच्च सम्भावना भएको क्षेत्रका रूपमा उल्लेख गर्दै, यसलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न थप नीति समर्थन आवश्यक रहेको धारणा राखिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य संवादलाई ठोस नीतिगत सिफारिसमा रूपान्तरण गर्नु रहेको थियो । सोही अनुरूप, कार्यक्रमबाट संकलित विचार तथा सुझावलाई ‘लिडर्स थिङ्क इन्टरप्रेनर्स फोरम’ले सरकारसमक्ष प्रस्तुत गर्ने “पोजिसन पेपर”मा समेटिनेछ, जसले उद्यमीको आवाजलाई नीतिनिर्माण प्रक्रियामा समावेश गर्ने अपेक्षा गरिएको छ ।
यस पहलमार्फत ललितपुर च्याप्टरले उद्यमशील समुदाय र नीतिनिर्माताबीच सहकार्य अभिवृद्धि गर्दै उद्यममैत्री वातावरण निर्माणमा आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।











प्रतिक्रिया