हेटौंडामा प्रदेशस्तरीय कृषि प्रदर्शनी


हेटौंडा ।

 मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी हुने भएको छ । बागमती प्रदेशभित्र किसानहरुको मनोबल उठाउन र युवाशक्तिलाई कृषिमा आकर्षित गर्न कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गर्दै हाललाई  प्रदेशका किसान वा कृषिउद्यमीका उत्पादनहरुको प्रदर्शनी गर्दै कृषिप्रति इच्छा हुनेहरुलाई मार्गदर्शनको अवसर प्रदान गर्ने उद्देश्यले स्टल शुल्क र प्रवेश निःशुल्क गर्दै संघको कृषि प्रवद्र्धन समितिको संयोजनमा प्रदर्शनी हुने भएको हो ।

चैत १३ गतेदेखि १६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा संघको पहिलो कृषि प्रदर्शनीका रुपमा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी आयोजना गरिएको हो । बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रदेशभित्रका उद्योग वाणिज्य संघ र मकवानपुर जिल्लास्थित पालिकाहरुमार्फत प्रदर्शकहरुलाई निमन्त्रणा गरिएकोमा सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुरका कृषक तथा कृषिउद्यमीहरुले स्टल प्रदर्शन तथा उत्पादनहरु बिक्रीवितरण गर्ने गरी बुक गरेका छन् । प्रदर्शनीमा ४० वटा स्टल निर्माण तथा व्यवस्थापन गरिनेछ । 

स्टलहरुमा कोदो, जुनेलो, फापरको पिठो तथा गेडागुडी, मह, मसला, बाँसको गिलास, थर्मस, केराको चिप्स, सिमल तरुलको परिकार, अचार, बाटेको धुप, गोबरबाट निर्मित दियो, केराको कप, म्याट, मस्यौरा, क्याण्डी, आलु, गुन्द्रुक, जुनार जुस, मल, दाना, अण्डा, अल्लोको गार्मेन्ट, तेल, केराको परिकार, च्याउ, माछा, योमरी, डेरी प्रोडक्ट, कृषिप्रविधि उपकरण आदि रहने संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले बताए ।

उनले प्रदर्शनीबाट कृषिउपजको उत्पादन, विविधीकरण तथा बजारीकरणमा मद्धत मिल्ने, कृषि फर्म दर्ता प्रोत्साहन हुँदा राजस्वमा टेवा पुग्ने, विभिन्न कृषिऔजार तथा व्यावसायिक ज्ञानको अभिबृद्धि हुँदा किसानलाई सहजता हुने, आपसी व्यापारको सहकार्य हुनसक्ने र कृषिको महत्व बुझाउने प्लेटफर्मका रुपमा कृषि प्रदर्शनी रहने पत्रकार भेटमा बताए ।

हेटौंडा उपमहानगरपालिका कार्यालयमार्फत कार्यान्वयन गर्ने गरी कुल पाँच लाख पचहत्तर हजार बजेट बनेकोमा बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा विनियोजित रकम पाँच लाख र बाँकी खर्च संघको आन्तरिक स्रोत र दाताको सहयोगबाट हुने उनले बताए ।

विगतमा नेपाल सरकारबाट ‘एक जिल्ला–एक उत्पादन’ कार्यक्रमअन्तर्गत मकवानपुर जिल्ला किबी फलका लागि छनौट हुँदा नेपाल उद्योग वाणिज्य महासंघमार्फत संघले करिब ४ वर्ष कृषकहरुलाई प्रोत्साहित गर्दै किबी फलको उत्पादनदेखि बजारीकरणसम्मका गतिविधि सञ्चालन गरेको थियो ।

‘नेपालका सबैजसो भूमि कुनै न कुनै कृषिउपजका लागि उर्वर मानिन्छ । मकवानपुर जिल्ला पनि कृषिका लागि महत्वपूर्ण छ । दामन, पालुङ, बज्रबाराही जस्ता थाहा नगरपालिका क्षेत्र, हाँडीखोला, मनहरी, छतिवन, फापरबारी, मकवानपुरगढीलगायत ठाउँमा ठूलो परिमाणमा कृषि उत्पादन हुने गरेको छ । ती उत्पादनहरु देशका प्रमुख सहरदेखि भारतसम्म निकासी हुँदै आएका छन्,’ अध्यक्ष रानाभाटले भने–कृषकहरुलाई सीप, उन्नत वीउ, अनुदान र प्रविधियुक्त बनाउन सके कृषि उत्पादन बृद्धि हुने, कृषकहरुमा उत्साह र आत्मनिर्भरताको अवस्था सिर्जना हुने हुन्छ । जसले वैदेशिक पलायन न्यूनीकरण गर्दै देशमै स्वाभिमानपूर्वक जीवननिर्वाह गर्नसक्ने अवस्था सिर्जना हुनसक्छ ।