विश्वका सबैभन्दा डरलाग्दा र खतरनाक ५ विमानस्थलहरूको सूची बनाउँदा नेपालको लुक्ला, भुटानको पारो, फ्रान्सको कूर्शेभेल, होण्डुरसको टोन्कोन्टिन र स्कटल्याण्डको बार्रा विमानस्थलको नाम अग्रपंक्तिमा आउँछन् । तर, यी सबैलाई उछिन्दै नेपालको सोलुखुम्बुमा अवस्थित लुक्ला विमानस्थल अर्थात् तेन्जिङ–हिलारी विमानस्थलले विश्वकै ‘नम्बर एक’ खतरनाक विमानस्थलको पहिचान बनाएको छ । सगरमाथाको फेदमा उभिएको यो विमानस्थल केवल एउटा विमान अवतरणस्थल मात्र होइन, यो त साहस र मृत्युबीचको एउटा पातलो रेखा हो, जहाँ हरेक अवतरण एउटा नयाँ जन्म सरह हुन्छ । समुद्र सतहबाट ९,५०० फिटको उचाइमा अवस्थित यो विमानस्थलमा पाइला टेक्नु अघि जो कोहीको मुटुको ढुकढुकी जहाजको इन्जिनको गर्जनभन्दा चर्को हुन थाल्छ । यहाँको भूगोल यति निर्मम छ कि एउटा सानो प्राविधिक त्रुटि वा पाइलटको सेकेन्डभरको एकाग्रता भंग हुनुको अर्थ सिधै अनन्तको यात्रा हुन सक्छ ।
यो विमानस्थलको इतिहास जति रोमाञ्चक छ, यसको निर्माणको कथा उत्तिकै संघर्षपूर्ण पनि छ । सन् १९६४ मा पहिलो सगरमाथा आरोहीमध्येका एक सर एडमण्ड हिलारीले स्थानीय विद्यालय र अस्पतालका लागि निर्माण सामाग्री पु¥याउने उद्देश्यले यसको जग बसालेका थिए । रोचक कुरा त के छ भने, हिलारीले यो जमिन स्थानीय शेर्पाहरूबाट करिब २,६५० डलरमा खरिद गरेका थिए । स्थानीयले आफ्नो उर्वर र समथर जमिन बेच्न नमानेपछि विमानस्थललाई भिरालो पाखामा बनाउनु पर्ने बाध्यता आइलाग्यो । भारी मेसिनरी पु¥याउन असम्भव भएपछि स्थानीय शेर्पाहरूले आफ्नै हातले यसलाई खनेर तयार पारे । स्थानीयले आफ्नै बलबुटामा जमिनलाई कसिलो र समथर बनाए । सुरुमा कच्ची मैदान रहेको यो विमानस्थलमा सन् १९७१ देखि व्यावसायिक उडान सुरु भयो र सन् २००१ मा मात्र यसलाई पक्की बनाइयो । तर, यसको जोखिम भने अलिकति पनि कम भएन ।

लुक्ला विमानस्थललाई ‘डेन्जरस’ बनाउने मुख्य कारण यसको ५२७ मिटर मात्र रहेको छोटो धावनमार्ग हो । जसको प्रारम्भ र अन्त्य भौगोलिक अवस्थाका कारण निक्कै चुनौतीपूर्ण छ । यहाँ अवतरण गर्ने पाइलटसँग ‘गो–अराउण्ड’ अर्थात् जहाजलाई पुनः आकाशमा लैजाने कुनै विकल्प हुँदैन । एक पटक रनवेमा ओर्लन थालेपछि जहाजलाई रोक्नुको विकल्प छैन । यहाँको पातलो हावा र अनपेक्षित मौसमले स्थिति झनै भयावह बनाउँछ । अग्लो स्थानमा हावाको घनत्व कम हुने भएकाले जहाजलाई रोक्न आवश्यक पर्ने घर्षण कम हुन्छ । त्यहाँ कुनै आधुनिक ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ छैन । त्यसैले पाइलटले ‘भिजुअल फ्लाइङ रुल्स’ (भीएफआर) को आधारमा आफ्नै आँखाले भूगोल र मौसम नियाल्दै जहाज नियन्त्रण गर्नुपर्छ । छिनभरमै हुस्सु लाग्ने, हिउँ पर्ने र हावाको वेग परिवर्तन हुने भएकाले प्रायः सबै उडानहरू बिहानै सम्पन्न गरिन्छन् । दिउँसोको मौसम यति अनिश्चित हुन्छ कि कतिपय अवस्थामा हजारौँ पर्यटक हप्तौँसम्म लुक्लामै बस्न बाध्य बन्छन् ।
इतिहास हेर्ने हो भने विभिन्न समयमा भएका विभत्स विमान दुर्घटनाहरूले यस एअरपार्टको संवेदनशीलता र खतरालाई पटक–पटक पुष्टि गरिसकेका छन् । यी दुर्घटनामा दर्जनौं यात्रीले ज्यान गुमाएका थिए । जसले गर्दा लुक्लाको नाम सुन्नासाथ धेरैको सातो जान्छ । यहाँ केवल ‘ट्विन अटर’ वा ‘डोर्नियर’ जस्ता साना र शक्तिशाली इन्जिन भएका जहाजहरू मात्र चल्न सक्छन् । लुक्लाको विकल्पमा फाप्लु विमानस्थल रहे पनि त्यहाँबाट लुक्ला पुग्न केही दिनको पैदल यात्रा गर्नुपर्ने झन्झटले गर्दा यात्रीहरू ज्यानकै जोखिम मोलेर लुक्ला उड्न तयार हुन्छन् । जोन क्राकाउरले भने झैँ, प्राकृतिक सुन्दरता र दुर्लभ भौगोलिक बनावटले सुसज्जित सगरमाथाले सधैँ साहसी र प्रकृति प्रेमी यात्रीहरूलाई आफूतिर आकर्षित गरी रहन्छ । र, त्यही सर्वोच्च शिखरको सामीप्यता पाउने पहिलो सर्त नै लुक्लाको त्यो थ्रिलर फिल्म जस्तो भान हुने हवाई यात्रा हो । आज लुक्ला एयरपोर्ट केवल एउटा सगरमाथाको ट्रान्जिट विन्दु मात्र होइन, यो मानव अठोट, साहसी शेर्पाहरूको अपार मेहनत र प्रकृतिको रहस्यमय चुनौतीको एउटा जीवित प्रमाणका रूपमा खडा छ ।











प्रतिक्रिया