ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने


ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा उक्त समझदारी भएको हो। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क रूपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्नेछ। साथै विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्रछात्राहरूको आँखा परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क रूपमा चस्मा वितरण गर्ने सहमति समेत भएको छ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकले स्थापना कालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए। उनले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सातै प्रदेशमा समान रूपमा पु¥याउने प्रयास गरिएको उल्लेख गर्दै जहाँबाट नाफा आर्जन गरिन्छ, त्यहीँ समाजप्रति दायित्व पनि रहने धारणा व्यक्त गरे। उनले बैंकले आफ्ना ७७ वटै जिल्लामा रहेका शाखा कार्यालयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा प्राकृतिक विपत्तिमा उद्धार र राहतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।

त्यसैगरी तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो रूपमा अघि बढाउने बताए। उनले पारदर्शिता र चुस्त व्यवस्थापनमा विशेष जोड दिने पनि बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबीचको सहकार्यले सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालनमा थप उत्साह मिलेको बताउँदै आगामी दिनमा यसलाई अझ विस्तार गरिने बताए। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च पदस्थ कर्मचारी तथा प्रतिष्ठानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘उत्कृष्ट इन्टरनेट बैंक २०१६’, ‘उत्कृष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर उत्कृष्टता २०२२, २०२४ र २०२५’, ‘उत्कृष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘उत्कृष्ट रोजगारदाता’ जस्ता प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रूपमा रहेको यस बैंकले ३५२ शाखा कार्यालय, ३७९ स्वचालित नगद वितरण यन्त्र, १४७ शाखारहित बैंकिङ सेवा, ६८ विस्तारित तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै बैंकले विभिन्न देशहरूबाट विप्रेषण सेवा समेत उपलब्ध गराउँदै आएको छ।

नेपाल आँखा कार्यक्रम अन्तर्गत सञ्चालित तिलगंगा आँखा प्रतिष्ठान सन् १९९२ मा स्थापना भएको गैरनाफामूलक संस्था हो, जसले आँखा स्वास्थ्य सेवा, इन्ट्राअकुलर लेन्स उत्पादन, अनुसन्धान, शिक्षण, सामुदायिक आँखा कार्यक्रम तथा नेपाल आँखा बैंकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ।