ज्योति विकास बैंकद्वारा ग्लोबल मनी विक अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौँ
ज्योति विकास बैंकले २०८२ साल चैत्र ०२ गतेदेखि ०८ गतेसम्म (सन् २०२६ मार्च १६ देखि २२ सम्म) ग्लोबल मनी विक अभियान मनाएको छ ।

उक्त अभियान अन्तर्गत बैंकले देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरेको हो । यस वर्षको मुख्य नारालाई “बचत, योजना तथा लक्ष्य” भन्ने विषयमा केन्द्रित गर्दै विशेषगरी युवा तथा लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने उद्देश्यले एक सातासम्म बैंकका विभिन्न शाखा कार्यालयमार्फत कार्यक्रम आयोजना गरिएका थिए । साथै, डिजिटल माध्यम तथा सामाजिक सञ्जालमार्फत पनि सचेतनामूलक सामग्रीहरू प्रकाशन गरिएको थियो । यस अभियानबाट करिब २२०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा समूहगत कार्यालय मातहतका शाखाले आफ्नो क्षेत्रका विद्यालय तथा कलेजमा आधुनिक बैंकिङ सेवा, बैंक तथा वित्तीय संस्थाको भूमिका, वित्तीय अनुशासन, आवश्यकता र चाहना बीचको भिन्नता, वित्तीय लक्ष्य निर्धारण, बचत, लगानी, खर्च व्यवस्थापन, विद्युतीय बैंकिङ सेवा, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी जस्ता विषयहरू समेटेर ३० भन्दा बढी तालिम तथा साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए। यसका अतिरिक्त अभियान अवधिभर सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्री प्रकाशन तथा प्रभातफेरी कार्यक्रममार्फत वित्तीय सचेतना फैलाउने कार्य पनि गरिएको थियो ।

यस्ता कार्यक्रमले वित्तीय साक्षरताको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै बालबालिका, युवा तथा अन्य लक्षित वर्गलाई सानै उमेरदेखि सही वित्तीय निर्णय लिन सक्षम बनाउने विश्वास बैंकले लिएको छ । आवश्यक ज्ञान, सीप र व्यवहार विकासमार्फत भविष्यमा जिम्मेवार नागरिक निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नवीन सोचका साथ सामाजिक उत्थान र दिगो परिवर्तनलाई निरन्तरता दिँदै आएको छ । बैंकले आफ्नो खुद नाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्वका कार्यहरूमा खर्च गर्दै आएको छ । विशेषगरी नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि “न्यानो नानी” कार्यक्रममार्फत प्रत्येक वर्ष करिब २५९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न सफल भएको जनाएको छ ।

राष्ट्र निर्माणमा स्वस्थ जनशक्तिको महत्वपूर्ण भूमिकालाई आत्मसात गर्दै बैंकले सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने प्रयास जारी राखेको छ । आर्थिक वर्षमा करिब ४१ करोड रुपैयाँ कर योगदान गरेको यस बैंकले हाल उपत्यका तथा उपत्यकाबाहिर गरी ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा स्वचालित नगद वितरण यन्त्रमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।