झन्डै पाँच दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको लिटिल एन्जल्स स्कुल देशको अग्रणी शैक्षिक संस्था हो । हजारौं विद्यार्थीको व्यक्तित्व विकास गर्न सफल यस संस्थालाई लामो समयदेखि प्रिन्सिपलका रूपमा मुकुन्दराज शर्माले नेतृत्व गर्दै आउनुभएको छ । विद्यालयको सफलता पाठ्यक्रममा मात्र होइन, दृष्टिकोण, अभ्यास र समयसापेक्ष परिमार्जन पनि अहिलेको आवश्यकता हो भन्ने दृष्टिकोण राख्नु हुने प्रिन्सिपल शर्मासँग शैक्षिक गतिविधि, विद्यालयको योजनालगायतका विषयमा नेपाल समाचारपत्रकर्मी ईश्वरराज ढकालले गर्नुभएको कुराकानी ।
नमस्कार सर, आरामै हुनुहुन्छ ?
हजुर नमस्कार, आरामै छु ।
विद्यालयको जिम्मेवारीबाट फुर्सद नमिलेर हो वा अन्य व्यस्तताले हो, हिजोआज तपाईंका निबन्धहरू खासै प्रकाशित भएको देखिँदैन किन ?
विद्यालयको जिम्मेवारी हिजो पनि थियो, आज पनि छ । व्यस्तता उत्तिकै हो । हाल विद्यालयको जिम्मेवारीले केही थिचेको छ । तथापि, व्यस्तताभित्रबाट थोरै समय निकालेर लेख्ने गर्छु, हिजोआज पनि लेखिरहेको नै छु । तर, प्रकाशन गर्ने काम केही पातलिएको मात्रै हो । निबन्ध लेखनबिना मलाई अडिन गाह्रो छ, निबन्ध र गीत लेखन कार्य अनवरत चलिरहेको छ ।
अहिले गीत लेखनको अवस्था कस्तो छ ?
गीत लेखन अहिले थोरै धिमा गतिमा छ । अर्थात् ओझेलमा परेको छ । निबन्ध लेखनबाट साहित्यकर्म आरम्भ भयो । पछि गीतले उछिन्यो अहिले फेरि निबन्धले गीतलाई उछिनेको छ । । अब दुवैलाई बराबरीको गतिमा पु¥याउनुपर्छ भन्ने महसुस भएको छ ।
तपाईंको लेखनबाट विद्यार्थीहरू कत्तिको प्रभावित छन् ?
विद्यार्थीहरू प्रभावित नै छन् । सबै जना प्रभावित हुने कुरा भएन । जसलाई साहित्यप्रति रुचि छ उनीहरू मेरो लेखन पढेर उत्साहित भई लेख्ने चेष्टा गर्छन् । माथिल्लो कक्षाका धेरैजसो विद्यार्थीले मेरो पुस्तक किनेका रहेछन् । मेरो पुस्तक किनेर प्रभावित हुने विद्यार्थीको संख्या बढिरहेको छ । वास्तवमा नेपाली साहित्यमा रुचि राख्ने मेरा विद्यार्थी धेरै छन् ।
अब अलिकति प्रसंग बदलौँ, तपार्इं लिटिल एन्जल्स स्कुलको प्राचार्यसमेत हुनुहुन्छ, विद्यालय सञ्चालनको अनुभव पनि सुनाउनुहोस् न ?
एउटा विद्यालय जसरी चल्नुपर्छ हामीले पनि त्यसरी नै चलाएका छौँ । हामीले विद्यालयले पालना गर्नुपर्ने मर्यादाका रेखालाई उल्लंघन नगरी विश्वका उत्कृष्ट नमुनालाई मिश्रण गरी चलाइरहेका छौँ । विद्यालय सञ्चालन प्रक्रियालाई अझै बेजोड बनाउने तयारीमा छौँ । अर्थात् नवीन शैक्षिक मोडलमार्फत् विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।
हिजोआज विद्यालय सञ्चालनका कति चुनौतीपूर्ण छ ?
चुनौतीपूर्ण नै छ, समयअनुसारको चेतना र आकाङ्क्षाहरूको परिधि तीव्रताका साथ फैलिइरहेको छ । शिक्षक र विद्यालय व्यस्थापनले त्यो गतिलाई समाउन नसक्ने हो भने चुनौतीपूर्ण हुन्छ । हामीले आफ्नो समयमा प्राप्त गरेको ज्ञान र सीपलाई अहिलेको युवा पुस्ताको चेतनासँग मिल्दोजुल्दो हुने गरी पुनर्परिभाषित गर्न सकेनौँ भने त्यहाँ विचार र अपेक्षाकबीच द्वन्द्व हुन्छ ।
शिक्षकहरूलाई समयसापेक्ष अद्यावधिकीकरण नै अहिलेको आवश्यकता र चुनौती दुवै हो । त्यसबाहेक को आन्तरिक र बाह्य चुनौतीहरू पनि यथेष्ठ छन् । नयाँ नयाँ प्रविधिसँगै हुर्किएका विद्यार्थीलाई समयसापेक्ष शिक्षा दिन सकिएन भने थप चुनौती बढ्ने छ । हाम्रो विद्यालयले यो विषयमा नवीन सोचका साथ अघि बढेको छ । नवीन सोच यसै वर्षदेखि कार्यान्वयन गर्र्ने तयारीमा छौँ ।
लिटिल एन्जल्स चाहिँ आफैंमा कस्तो विद्यालय हो ?
झन्डै पाँच दशकअघि स्थापित यो विद्यालय स्थापनाकालदेखि आजपर्यन्त सबैका लागि सहज पहुँच भएको अत्यन्तै सुविधायुक्त विद्यालय हो । यहाँको शैक्षिक उत्कृष्टता, पर्यावरणीय सौन्दर्यता, ठुलो क्षेत्रफलका साथै विद्यालयमा गरिने अतिरिक्त क्रियाकलाप, मध्यम तथा सन्तुलित शुल्क यसका विशेषता हुन् ।
एउटा गुणस्तरीय शैक्षिक संस्थामा हुनुपर्ने यथोचित गुणहरू छन् । दशकौँ लामो शैक्षिक अनुभव, क्षमतावान् र अनुभवी शिक्षक, उत्कृष्ट व्यवस्थापन र विद्यार्थीको कठिन मेहेनतले गर्दा लिटिल एन्जल्स स्कुल एउटा सामान्य विद्यालय मात्रै नभई शैक्षिक ‘ब्रान्ड’ बन्न सफल भएको छ । यो ब्राण्डलाई शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी पूर्वविद्यार्थीलगायत सबैको साथले जोगाएर राख्न सफल भएका छौँ ।
स्थापनाको ४६औँ वसन्त पार गर्दै गर्दा विद्यालयले यो उचाइ कसरी भेट्टायो ?
उचाइ प्राप्त गर्न आरम्भ राम्रो हुनुपर्दछ । ‘गुड टेक अफ’ गर्न जरुरी छ । संस्थाका संस्थापकहरूको लक्ष्य र दृष्टिकोण स्पष्ट र फराकिलो भए आरम्भ पनि गतिलो हुन्छ । हाम्रो विद्यालयको हकमा त्यस्तैै भएको थियो । जतिबेला यो विद्यालय हात्तीवनमा आयो, त्यसबेला विद्यालयको आफ्नै भवन होस् भन्ने परिकल्पना गरिँदैनथ्यो । अहिले जति नै पैसा भए पनि राजधानीभित्र यति फराकिलो विद्यालय बनाउन सम्भव छैन ।
त्यस्तै ऐकेडेमिक एक्सेलेन्स त झन पहिलो सर्त हो । त्यसलाई त पूरा गर्नैपर्छ । पढाइका अलावा विद्यार्थीका रुचि अनुसारका अवसरहरू दिन जान्नुपर्ने रहेछ, उनीहरूलाई खुसी पार्न सकियो भने मात्रै परिणाम राम्रो आउने हो । विद्यालयले आफ्नो यात्राका क्रम प्राप्त गरेका अनुभवलाई क्रमशः भन्दै जाने हो भने उत्तर लामो हुनसक्छ ।
यस वर्षदेखि शिक्षण विधि, प्रक्रिया वा अन्य कुनै किसिमका नयाँ योजना के हुन् ?
‘पेडागोजी’का नयाँ–नयाँ तौरतरिका खोज्ने अनुभव र इतिहास हाम्रो पुरानो हो । तथापि, स्थिर र जमेको पानीजस्तो यथास्थितिवादी भएर बस्नु हँुदैन । निरन्तर बगिरहनुपर्छ ।
यस वर्ष पनि हामीले हाम्रो आन्तरिक पाठ्यक्रम र अभ्यासमा केही नयाँ अंश थपेका छौँ । सोही अनुसार शिक्षकलाई तालिम दिने गरेका गरेका छौँ । हाम्रो बानी जसलाई तपाईं हाम्रो कमजोरी ठान्नुस् वा आदर्श शैली, हामीले निरन्तर गरिरहने यस्ता प्रयासहरूलाई विज्ञापनको आधार बनाउँदैनौँ । हल्ला गर्दैनौ । अभिभावकहरूले पनि हाम्रा क्रियाकलापहरू मार्फत बढी भरपर्दो सूचना पाउनुहुन्छ ।
विद्यालयको अबको उद्देश्य अथवा योजना के छ ?
उचाइमा पुग्न जति कठिन छ, त्योभन्दा पनि कठिन उचाइमा रहिरहन हुन्छ । अहिले हामीले प्राप्त गरेको उचाइलाई कायमै राख्नु नै हाम्रो उद्देश्य र कर्तव्य हो । जसका लागि अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ । यद्यपि, विद्यालयलाई देशका विभिन्न भागमा बिस्तार गर्ने पनि उद्देश्य छ । लिटिल एन्जल्स स्कुलको ब्राण्ड अन्य जिल्लामा पनि पु¥याउने हाम्रो लक्ष्य छ । हेरौँ, अगाडिको बाटो कसरी निर्माण हुन्छ ।
यस विद्यालयबाट हालसम्म कति विद्यार्थीले एसएलसी÷एसइई उत्तीर्ण गरिसकेका छन् ?
३६औं ब्याचले एसएलसी÷एसइई तह पूरा गरिसक्दा झन्डै १५ हजार विद्यार्थी उत्तीर्ण भइसकेका छन् ।
यहाँले पूर्वविद्यार्थीहरूलाई भेट्दा कस्तो अनुभव हुन्छ ?
मुटुको टुक्रा अचानक भेटिएजस्तो हुन्छ, खुसी भइन्छ । विद्यार्थीको माया यति धेरै लाग्दोरहेछ कि तपाईं कल्पनै गर्न सक्नुहुन्न । विद्यार्थी र शिक्षकको साइनो जति प्रगाढ हुन्छ, माया पनि उत्तिकै निर्मल हुन्छ । अझ तिनले गरेको प्रगति सुन्दा त गर्वले छाती चौडा हुन्छ । विद्यार्थीहरू शिक्षकका गहना हुन् । देशभित्र होस् वा विदेशतिर जहाँ जाआँै, आफ्ना विद्यार्थीलाई भेट्दा खुसीले आँखा रसाउँछन् ।
लिटिल एन्जल्स स्कुलका धेरैजसो विद्यार्थी कहाँ भेटिन्छन्, स्वदेशमा कि विदेशमा ?
देश विदेशमा उत्तिकै छन् । यो त अहिलेको विश्व बजारका निम्ति स्वभाविक प्रकृया हो । क्षमतावान्हरूका लागि अवसर जहाँ पनि हुन सक्छ । हाम्रा विद्यार्थी डाक्टर, इन्जिनियर, वकिल, प्रहरी, सेना, बैंक, रङमञ्च, चलचित्र, सञ्चार, गीत संगीत व्यवसाय सबै क्षेत्रमा कुनै न कुनै विद्यार्थी भेटिन्छ नै ।
आफ्ना विद्यार्थी समाजका हरेक क्षेत्रमा यसरी स्थापित हुनु विद्यालयले तयार पारेको आधारशीला मजबुत रहेछ भन्ने बुझनुपर्छ । त्यो विद्यालयको ब्राण्ड हो । त्यसैले बडो गौरबको अनुभूति हुन्छ । आफ्नो पेसा र सत्कर्मबाट मन सन्तुष्ट हुन्छ ।
के यसैलाई सन्तुष्टिको आधार मान्न सकिन्छ ?
यो धेरै वर्षको मेहेनतले आर्जेको सन्तुष्टि हो । यसलाई धनले पनि किन्न सकिँदैन । असल विद्यार्थी उत्पादन गर्दा सन्तुष्टि अनमोल र अतुलनीय हुन्छ ।
देशको शिक्षा प्रणालीमा ठुलै हिस्साका रूपमा निजी क्षेत्र संलग्न छ । यो अपरिहार्य हो कि नहुँदा पनि हुन्छ ?
सिद्धान्ततः शिक्षा र स्वास्थ्य राज्यकै जिम्मेवारी हो । तर व्यवहारमा विश्वका प्रायः जसो मुलुकमा त्यस्तो देखिँदैन । धेरैजसो मुलुकमा निजी क्षेत्र कुनै न कुनै स्वरूपमा हुन्छ । कतै राज्यको बोझ हलुङ्गो पार्न, कतै गुणस्तरमा टेको दिन आंशिक रूपमा निश्चित ‘स्वरूप’मा निजी क्षेत्र संलग्न हुँदा रहेछन् । हाम्रो देशमा पनि सबै जिम्मेवारी राज्यले लिन चाहेकै थियो ।
राज्यले थेग्न नसकेपछि निजी क्षेत्रको संलग्नतालाई खुला गरियो । निजी क्षेत्र संलग्न हुने कि नहुने ? भन्दा पनि ‘कस्तो ‘मोडालिटी’मा संलग्न भइरहने भन्ने विमर्श नै उपयुक्त होला । तपाईंहरूकै शब्दअनुसार यो आंशिक अपरिहार्यता नै हो । देश समुन्नत भयो भने अर्कै कुरा हुन सक्ला ।
– लिटिल एन्जल्स स्कुल अतिरिक्त क्रियाकलापहरूको प्रचुरता, मध्यम तथा सन्तुलित शुल्कमा पढ्न पाइने विद्यालय हो ।
– विद्यालय सञ्चालनको प्रक्रियालाई अझै बेजोड बनाउने तयारीमा छौँ । अर्थात् विद्यालयले नवीन शैक्षिक मोडललाई अघि बढाउने तयारी गरिरहेका छौँ ।
– शिक्षकहरूको समयसापेक्ष अद्यावधिकीकरण नै अहिलेको आवश्यकता र चुनौती हो । त्यसबाहेक आन्तरिक र बाह्य चुनौतीहरू पनि यथेष्ठ छन् ।
– समयानुसार चेतना र आकाङ्क्षाहरूको परिधि तीव्रताका साथ फैलिइरहेको छ । शिक्षक तथा विद्यालय व्यवस्थापनले त्यो गतिलाई समाउन चुनौतीपूर्ण छ ।
– उचाइ चुम्न जति मुस्किल छ, उचाइमा टिकिराख्न झन् मुस्किल हुन्छ । हामी हाम्रो उचाइलाई कायम राख्नु उद्देश्य र कर्तव्य पनि हो ।
– लिटिल एन्जल्स स्कुललाई देशका विभिन्न भागमा बिस्तार गर्ने उद्देश्य छ ।
– ३६औं ब्याच उत्तीर्ण भइसक्दा झन्डै १५ हजार विद्यार्थी ले एसएलसी÷एसइई उत्तीर्ण गरिसकेका छन् ।
– सैद्धान्तिक रूपमा शिक्षा र स्वास्थ्य राज्यकै जिम्मेवारी हो । तर व्यवहारमा विश्वका प्रायःजसो मुलुकमा त्यस्तो देखिँदैन ।











प्रतिक्रिया