काठमाडौं।
नेपाल मेडिकल काउन्सिलले उपचारमा गम्भीर लापरबाही गरेको ठहर गर्दै एक जना दन्त चिकित्सकलाई एक हप्ताका लागि निलम्बन गर्ने निर्णय गरेको छ। काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा. अजय कुमार साह (दर्ता नं. २७०५) लाई अस्थायी रूपमा सेवाबाट निलम्बन गर्ने निर्णय गरेको हो।
काउन्सिलका अनुसार डा. साहविरुद्ध प्राप्त उजुरीमाथि विस्तृत छानबिन गर्दा उपचार प्रक्रियामा त्रुटि भेटिएको निष्कर्ष निकालिएको हो। उजुरी, अस्पतालका कागजात, सम्बन्धित चिकित्सकको बयान तथा विषय विज्ञहरूको रायका आधारमा कारबाही गरिएको काउन्सिलले जनाएको छ। नेपालमा चिकित्सकको दर्ता, नियमन र अनुशासन कायम गर्ने जिम्मेवारी काउन्सिलकै रहेको छ ।
यो घटना करिब एक वर्षअघिको हो। गत वर्ष चैत ५ गते काठमाडौँको कुलेश्वर निवासी २६ वर्षीया एक महिला तीव्र दाँत दुखाइका कारण उक्त क्लिनिक पुगेकी थिइन्। उनले डा. साहबाट चार चरणमा उपचार गराएकी थिइन्। सुरुवाती तीन चरण सामान्य रहे पनि चौथो चरण अत्यन्त पीडादायक भएको उनले उजुरीमा उल्लेख गरेकी छन्।
उजुरी अनुसार उनलाई उक्त चरणमा एनेस्थेसिया नदिई उपचार गरिएको दाबी गरिएको छ। साथै, उपचारका क्रममा बारम्बार एक्स–रे गर्दा असह्य पीडा भएको पनि उनले उल्लेख गरेकी छन्। त्यसपछि उनको गिजामा संक्रमण, सुन्निने समस्या तथा असहजता देखिएको बताइएको छ।
ती महिला पुनः वैशाख ७ गते क्लिनिक पुगे पनि चिकित्सकले समस्या सामान्य भन्दै गम्भीर रूपमा नलिएको आरोप छ। पछि अन्य चिकित्सककहाँ जाँच गराउँदा आरसीटी अपूरो रहेको र अवस्था जटिल बनेको पत्ता लागेको थियो। अन्ततः प्रभावित दाँत निकाल्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ।
उनले अपूरो उपचारका कारण आफ्नो स्वास्थ्यमा मात्र नभई दैनिक जीवन, अध्ययन तथा सामाजिक गतिविधिमा समेत नकारात्मक असर परेको उल्लेख गर्दै उचित क्षतिपूर्तिको मागसहित काउन्सिलमा उजुरी दिएकी थिइन्।
छानबिनका क्रममा उपचारमा लापरबाही पुष्टि भएपछि काउन्सिलले डा. साहलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको हो। यस्तो कारबाहीले स्वास्थ्य क्षेत्रमा पेशागत उत्तरदायित्व र सेवाको गुणस्तर कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल काउन्सिलले यस्ता उजुरीलाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको जनाएको छ।











प्रतिक्रिया