काठमाडौं ।
नेपाल बिमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमा प्रकरणमा कानुनविपरीत कार्य भएको ठहर गर्दै एक पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित चार संस्थामाथि कारबाही गरेको छ ।
प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीका सीईओलाई बिमा ऐन, २०७९ अनुसार कारबाही गरेको छ भने हिमालयन रिइन्स्योरेन्स÷ओरियन्टल इन्स्योरेन्स कम्पनी लाई दुई–दुई लाख रुपियाँ जरिवाना गरेको छ । साथै, एलियन्ट इन्स्योरेनस ब्रोकरको इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरिएको छ ।
प्राधिकरणका अनुसार ‘हुलदंगा तथा आतंकवाद जोखिम’ सम्बन्धी पुनर्बिमा अनिवार्य रूपमा नेपाल पुनर्बिमा कम्पनीमार्फत गर्नुपर्ने प्रावधान विपरीत ओरियण्टल इन्स्योरेन्सले एलियण्ट ब्रोकरमार्फत उक्त जोखिम निजी क्षेत्रको हिमालयन रिलाई हस्तान्तरण गरेको पाइएको छ।
छानबिनले देखाएअनुसार, गत भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा हिल्टन होटलमा क्षति पुगेपछि करिब ६ अर्ब रुपियाँ बराबरको बिमा दाबी परेको थियो । त्यसपछि निजी कम्पनीलाई जोगाउने उद्देश्यले पुनर्बिमाको दायित्व सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनीमा सार्ने प्रयास गरिएको निष्कर्ष प्राधिकरणले निकालेको छ ।
हिमालयन पुर्नबीमालाई बचाउन उक्त दायित्व सरकारी स्वामित्वको नेपाल पुर्नबीमा सार्ने प्रपञ्च रचिएको प्राधिकरणको छानबिनले देखाएको छ । नेपाल पुर्नबीमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले सुरुमा पुनर्बिमा प्रस्ताव अस्वीकार गरी निजी कम्पनीलाई फाइदा पु¥याएको र क्षति भएपछि पुनः सरकारी कम्पनीलाई नै भार पार्न खोजेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नेपाल पुनर्बिमा कम्पनीका सीईओले सुरुवातमा पुनर्बिमा प्रस्ताव अस्वीकार गरी निजी कम्पनीलाई फाइदा पु¥याएको र पछि क्षति भएपछि दायित्व सरकारी कम्पनीमा सार्ने प्रयास गरेको देखिएको छ। यस आधारमा उनीमाथि पनि कारबाही गरिएको हो।
यो प्रकरणमा अनुसन्धान गर्न प्राधिकरणले निर्देशक ध्रुव तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको प्रतिवेदन र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएपछि कारबाहीको निर्णय गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसअघि नै सम्बन्धित कम्पनीहरूलाई स्पष्टीकरण सोधेको थियो । जवाफ चित्तबुझ्दो नभएपछि कानुनी कारबाही अघि बढाइएको हो । साथै, घटनाको प्रकृति गम्भीर भएको भन्दै थप अनुसन्धानका लागि अन्य निकायमा समेत जानकारी पठाइएको छ ।
उक्त घटनाको पृष्ठभूमिमा, द्वन्द्वकालपछि स्थापना गरिएको आकस्मिक बिमा कोषलाई रूपान्तरण गरेर स्थापना गरिएको नेपाल पुनर्बिमा कम्पनीमार्फत नै हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा गर्ने नीति कायम रहेको छ। तर, हिल्टन होटलको हकमा उक्त व्यवस्था उल्लंघन भएको प्राधिकरणको ठहर छ ।
यसैबीच, प्राधिकरणले निर्देशन उल्लंघन गरेको भन्दै अन्य बीमा कम्पनीहरूलाई पनि कारबाही गरेको छ । प्राधिकरणले बिमा ऐन, २०७९ अनुसार निर्देशन उल्लंघन गर्ने कम्पनी तथा पदाधिकारीलाई जरिवाना, निलम्बनदेखि इजाजतपत्र खारेजसम्मको कारबाही गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै नियमनलाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारेको छ।
हिल्टन होटलको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नगरिएको र केही व्यक्तिको मिलेमत्तोमा ब्याक डेटमा पोलिसी जारी गरिएको विषयमा अनुसन्धान भएको थियो । सो अनुसन्धानमा ओरियण्टल इन्स्योरेन्स कम्पनीले एलियण्ट पुनर्बीमा ब्रोकरमार्फत हिल्टन होटलको पुनर्बीमा गरेको प्रमाण फेला परेको छ । एलियन्ट ब्रोकरले हुलदंगा तथा आतंकवाद जोखिमसम्बन्धी पुनर्बीमा हिमालयन पुनर्बीमा कम्पनीमा पठाएको देखिए पनि हिमालयनले उक्त प्रस्ताव अस्वीकार गरेको तथ्य खुलेको छ । यस सम्बन्धी समाचार नेपाल समाचारपत्रले समाचार प्रकाशित गर्दै आएको छ ।
यो पनि
हिल्टन होटल फर्जी पुनर्बीमा प्रकरणमा चार कम्पनीमाथि कारबाही सिफारिस
सत्ताको आडमा विचौलियाको रजगज











प्रतिक्रिया