काठमाडौं ।
डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
दोलखा जिल्ला अदालतको मिति २०७४ पुस ४ गतेको फैसला बमोजिम १० वर्ष कैद सजाय तोकिएका प्रतिवादी खिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो करिब ४:३० बजे काठमाडौं महानगरपालिका–गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८, बौद्धबेशी गाउँबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार नेत्र बहादुर बुढाथोकीको जाहेरीले वादी नेपाल सरकार भएको उक्त मुद्दामा तामाङसहितका प्रतिवादीलाई जनही १० वर्ष कैद सजाय र जनही १ लाख १ सय ८९ रुपैयाँ बिगो भराउने फैसला भएको थियो।
पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
तामाङ दोलखा जिल्लाको साविक मागापौवा गाविस–२ (हाल शैलुङ गाउँपालिका–४) स्थायी बासिन्दा हुन् भने हाल काठमाडौंको बौद्धबेशी क्षेत्रमा बस्दै आएका थिए।











प्रतिक्रिया